काठमाडौँ । निजामती विधेयकमा राज्यव्यवस्था तथा सुशासन समितिले राखेको २ वर्षको कुलिङ पिरियडको व्यवस्था खण्डित हुने प्रावधान राखेकोबारे छानबिन गर्न गठित समितिमा विवाद कायमै छ ।
प्रतिनिधिसभाले कांग्रेस सांसद जीवन परियारको नेतृत्वमा संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित विशेष समिति गठन गरेको थियो ।

उक्त समितिको २१ दिने म्याद सकिएपछि थपिएको ७ दिनको कार्यावधि आइतबार राति नै सकिएको थियो । सोमबार बिहान ७ बजेदेखि आइतबारकै बैठकको निरन्तरता दिएर छलफल सुरु भएको थियो । प्रतिवेदन टुंगो लगाउन बसेको बैठक दिउँसो ३ बजेसम्म पनि टुंगोमा पुगेको छैन । समितिमा रहेका सत्तारूढ दलका सांसद र विपक्षी दलका सांसदबीच विवाद कायमै रहेपछि प्रतिवेदन टुंगो लाग्न सकेको छैन ।
सत्तारूढ पक्षले कसैलाई पनि कारबाही गर्न नहुने भनेकाले सहमति जुट्न नसकेको विपक्षी दलको आरोप छ । विपक्षीले अडान राखेकाले सहमति जुट्न नसकेको सत्तारूढ दलका सांसदको आरोप छ ।
प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समितिले कुलिङ पिरियडमा दुई बुँदे बटमलाइन राखेर विपक्षी दलहरू बाहिरिएका छन् ।
सोमबार बिहानैदेखि छलफलमा जुटेका समिति सदस्यहरूमध्ये नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र रास्वपाका सांसदहरू बैठकबाट बाहिरिएका हुन् ।
उनीहरू दुई बुँदे माग राखेर बैठकबाट बाहिरिएका हुन् । पहिलो, राजनीतिक नेतृत्वले नैतिक जिम्मेवारी लिनुपर्ने । दोस्रो, मुख्यसचिव सहित उच्च पदस्थ कर्मचारीले पदीय आचरण अनुकुल कार्य नगरेको किटान गर्नुपर्ने ।
यससँगै आज पनि प्रतिनिधिसभा बैठकमा प्रतिवेदन पेस नहुने भएको छ । सत्तारूढ दलका सांसदहरूको बैठक भने सिंहदरबारमा बसिरहेको छ ।














