
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ मा उत्तीर्ण सबै विद्यार्थीलाई बधाई ज्ञापन गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत सोमबार प्रकाशित नतिजाअनुसार कक्षा १२ उत्तीर्ण भएका सबैलाई बधाई ज्ञापन गरेका हुन् ।
‘भू–परिवेष्ठित विकासशील देशहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन म तुर्कमिनस्थानमा छु । नेपालमा कक्षा १२ को रिजल्ट आयो भन्ने थाहा पाएँ । बधाई नानीबाबुहरू,’ प्रधानमन्त्रीले भनेका छन्। उनले विद्यार्थीहरूको मेहनत सफल भएको भन्दै अब स्वदेशमा पढ्ने र केही गर्ने नयाँ यात्राको सुरुआत गर्न समेत आग्रह सबैलाई गरेका छन् ।
‘तपाईंहरूको मेहनत सफल भयो, अब नेपालमै पढ्ने र केही गर्ने नयाँ यात्राको सुरुआत गरौँ । फेरि पनि बधाई सबैलाई’, प्रधानमन्त्री ओलीले लेखेका छन् । सोमबार साँझ राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित नतिजाअनुसार नियमिततर्फ ६१ दशमलव १७ र आंशिकतर्फ ३६ दशमलव ४९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।














