
काठमाडौं । बहुविवाह सम्बन्धी व्यवस्था संशोधन गर्न उपसमिति गठन गरिएको छ । आज बिहान बसेको मन्त्रिपरिषद्को विधेयक समितिको बैठकले बहुविवाहसम्बन्धी नयाँ गर्न लागिएको भनिएको व्यवस्था संशोधन र परिमार्जन गर्न उपसमिति गठन गरेको हो ।
बैठकपछि बोल्दै गृहमन्त्री रमेश लेखकले बहुविवाहसम्बन्धी नयाँ गर्न लागिएको भनिएको व्यवस्था संशोधन गर्न सरकार तयार भएको र उक्त व्यवस्था संशोधन र परिमार्जन गर्न उपसमिति गठन गरिएको जानकारी दिए ।
मन्त्री लेखकका अनुसार बहुविवाह सम्बन्धी व्यवस्था, विवाहको उमेरसम्बन्धी व्यवस्था, अग्रिम जमानत सम्बन्धी व्यवस्था र कैद जरिवानाको मुल्तवी, माफी र परिवर्तनसम्बन्धी व्यवस्थाहरूमा थप छलफल गर्नुपर्ने तथा संशोधन परिमार्जन गर्नुपर्ने देखिएकाले विधेयक समितिमा एउटा उपसमिति गठन गरिएको हो ।
लेखकका अनुसार उक्त उपसमितिले सम्बन्धित मन्त्रालयहरूको पनि राय सल्लाह लिएर परिमार्जन गर्ने प्रक्रिया अघि बढाउने छ ।














