Logo
Logo

रास्वपामाथि खनिए विश्वप्रकाश, भिजिट भिसामा सबैभन्दा बढी मानव तस्करी रविकै पालामा भएको आरोप


504
Shares

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले कुनै बेला अदालतको आदेशमा बिमती राख्नेमाथि खरो उत्रिने रास्वपाले अहिले त्यही तागत नराख्ने टिप्पणी गरेका छन् ।

आज (बुधबार) प्रतिनिधि सभा बैठकमा बोल्दै शर्माले पहिले केरे केरे ! तिम्रो पिताजीको शासन हो भन्नेहरू अहिले हस्ताक्षरमार्फत दबाब दिन खोजेको आरोप लगाए ।

‘हिजो त्यसरी बोल्ने अनि आज हस्ताक्षरमार्फत केरे केरे कसलाई दबाब दिन खोजेको ? हस्ताक्षरमार्फत यो देशमा अदालतहरुमा वा कसलाई दबाब दिन खोजेको ? कुनै अस्पताललाई क्याम्पसलाई कि अदालतलाई ?,’ उनले प्रश्न गरे ।

उनले रास्वपा पनि आफू जस्तै नयाँ भएकाले सिक्न आग्रह गरेका छन् । ‘हामी सिक्ने क्रममा छौं । सबै आफ्नो दृष्टिकोण बुझाइहरू संसदले मान्नुपर्छ भन्ने मेरो गोरूको अठारै टक्का भन्ने कुरामा म जानु हुन्न र म जस्तै साथीहरूले जानु हुन्न । प्रश्न नयाँ पुरानो होइन प्रवृत्तिको हो,’ उनले भने ।

रास्वपा सभापति जेलमा भए पनि आदेश गर्न स्वतन्त्र भएको उनले बताएका छन् । ‘साथीहरू बाहिर चाहिँ हुनुहुन्छ तर जेलको कैदीझैं आदेश मान्न बाध्य हुनुहुन्छ,’ उनले भने । केही नेताहरू कांग्रेसबाटै रास्वपामा गएको पनि उनले बताएका छन् । तर बोल्ने तागत कांग्रेसमा हुँदा मात्रै हुने बताए ।

शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुलाई अतार्किक अडान, आवेग र अराजक शैलीबाट मुक्त हुन सुझाव दिएका छन् । उनले भिजिट भिसा प्रकरणको विषयलाई आवेगमा आएर नहेर्नसमेत आग्रह गरे।

महामन्त्री शर्माले भिजिट भिसामा सबैभन्दा बढी गृहमन्त्री रवि लामिछानेका पालमा गएको उल्लेख गर्दै सबैभन्दा बढी मानव तस्करी त्यही बेला भएको भन्ने तपाईहरुको निष्कर्ष हो ? भन्दै प्रश्न समेत गरे ।

उनले मानव तस्करीको विषयमा प्रश्न उठाउँदा रास्वपाले नै छानेको उपसभामुख इन्दिरा राना मगरको विषय समेत कोट्याए ।

उनले भिजिट भिसाको विषयमा छानबिन भइरहे पनि रास्वपाका नेताहरुकै अडानका कारण उपसभामुखको फाइल पेण्डिङमा गएको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्