
प्रमुख प्रतिपक्षी दल नेकपा(माओवादी केन्द्र)को स्थायी समिति बैठक चार दिन बसेर सकिएको छ । शुक्रबारदेखि सुरु भएको बैठक सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बैठकमा उठेका विषयमा जवाफ दिएपछि सकिएको हो ।
माओवादीमा बिरलै हुने सैद्धान्तिक बहस यसपालीको स्थायी समिति बैठकमा भने प्रखरताका साथ उठेको छ । सधैंजसो नेतृत्वको भक्तिगानमै सकिने पार्टीका पदाधिकारीदेखि स्थायी समिति बैठक यसपटक भने नेतृत्व हस्तान्तरबारे नै पक्ष र विपक्षमा विभाजित भएर बहस भयो । दुई वर्षयता उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ले उठान गरेको पार्टीमा नेतृत्व हस्तान्तरणको बहस र त्यसका लागि विशेष महाधिवेनशनको मागले बैठकमा निकै प्राथमिकता पायो भने उनको मनमोहन अधिकारीबाहेक अरू प्रधानमन्त्री असुली धन्दामा लागेको आरोपको निकै आलोचना भयो ।
४६ सदस्यीय स्थायी समितिमा अधिकांश नेताहरूले शर्माको आफ्नै अध्यक्षलक्षित असुली धन्दाको आरोपमाथि प्रश्न उठाउँदै आत्मालोचना गर्न सुझाए । शर्माको पक्षमा चारजना मात्रै देखिए । राम कार्की, अञ्जना विशंखे, टंक राई र पर्शुराम तामाङले मात्रै शर्माको एजेण्डालाई साथ दिए ।
बैठकमा संख्यात्मक रुपमा कमजोर देखिए पनि आत्मालोचना नगर्ने दृढता व्यक्त गर्दै शर्माले उल्टै पार्टीको ३१ लाख मतबाट झारेर ११ लाखको दुरावस्थामा पु¥याउने प्रचण्डले आत्मालोचना गर्नुपर्ने जवाफ फर्काए । यसले माओवादीको अन्तरसंघर्ष थप चर्किने देखिएको छ । शर्माले आफ्नो पूर्ववत अडानबाट पछि नहट्ने संकेत दिलाइसकेका छन् ।
‘वर्गप्रतिको प्रतिबद्धतामा अध्यक्षज्यूको विचलन आएको छ, संघीयताको स्वामित्व लिन सकिएको छैन, पहिचानको मुद्दा छोडिएको छ,’ शर्माले बैठकमा भनेका थिए, ‘यी सबै कारणबाट हामीले ३१ लाखको जनमत गुमाएका छौं, त्यो फिर्ता गर्न सक्छौँ कि सक्दैनौँ, त्यसको जिम्मेवार को हो ?’
जनार्दनले प्रचण्डमाथि तेस्र्याएका यी प्रश्नको जवाफ खोज्ने हो भने माओवादी पतनको कारण सहजै पत्ता लाग्ने छ । तर, प्रचण्ड भने यसको जवाफ दिन पन्छिएर गल्ती गर्नेले आत्मालोचना गर्नुपर्ने बताउँदै आफूमाथि उठेका प्रश्नबाट भाग्न खोजेका छन् ।
माओवादी आन्दोलनको उत्थानमा प्रचण्डको सकारात्मक भूमिका रहेकै हो । माओवादी युद्ध हुँदै शान्तिपूर्ण राजनीतिमा आगमनको सुरुवातमा उनकै नेतृत्वमा पहिलो पार्टी बन्यो । तर त्यसयता उनकै नेतृत्वले किन जोगाउन सकेन ? त्यसयता गुमाएको मत र जनविश्वासप्रति प्रचण्ड जवाफदेही बन्नुपर्छ कि पर्दैन ? ‘एक झुटलाई छोप्न हजारौँ झुट बोल्नुपर्छ’ भनेझैँ प्रचण्डले पार्टीमा नीतिगत प्रश्न उठाउनेलाई विभाजनको हल्ला फैलाएर निरुत्साहित गर्ने प्रयत्न गर्दै आएका छन् ।
पार्टीमा आफू बलियो र पार्टीलाई कमजोर बनाउँदै आफ्नो भजनमण्डलीमा परिणत गरेका छन् । यसले त्यत्रो बलिदानीपूर्ण आन्दोलनको गरिमालाई धुलिसात बनाएको छ । आज शहरी क्षेत्रमा माओवादी जनमत न्यून छ भने विगतकै रोल्पा रुकुममै सीमित हुनुपर्ने अवस्था निम्तिएको छ । यसको जिम्मेवारी अकण्टक नेतृत्वमा रहेका प्रचण्डले लिनुपर्ने हो कि होइन ? अझैँ त्यही रोल्पा रुकुम पुगेर प्रचण्डले बलियो जनाधार भएका नेतालाई पार्टी छाडेपनि फरक नपर्ने घुर्कीपूर्ण अभिव्यक्ति दिनुले उनी पार्टी या आफू के बलियो बनाउन चाहन्छन् ? अहिले जनमानसमा उठेका यी र यस्तै प्रश्नको जवाफ खोज्ने प्रयास उपमहासचिव शर्माले स्थायी कमिटी बैठकमार्फत गरेका छन् ।
माओवादी विभाजनक्रमपछि पछिल्लो समय प्रचण्डविरुद्ध पार्टी बैठकमा आवाज उठाउने शर्मा एक मात्रै नेता हुन् । अरू सबै प्रचण्डका भक्तका रुपमा उनका हजारौँ गल्तीलाई माफ दिँदै प्रचण्ड निर्विकल्प भएको राग अलापेका छन् । पार्टीको यत्रो अद्योगति हुँदासमेत प्रचण्डको विकल्प नभएको बताउँदै अधिकांश नेताहरूले उनको देवत्वकरण गरिरहेका छन् । यसले प्रचण्डलाई बलियो बनाउने बहानामा पार्टी झनै धराशायी बनाउने निश्चित छ ।
यो स्थायी समिति बैठकमा शर्माको पक्षमा खासै नेताहरू नखुले पनि उनले उठाएको एजेण्डा पार्टीलाई जीवन्तता प्रदान गर्न केन्द्रित रहेको देखिन्छ । विगतमा अरुलाई असफल देखाएर आफू नेतृत्वमा पुगेका प्रचण्डले आफ्नो असफलताको जिम्मेवारी लिन शर्माले सुझाउनु न्यायोचित हो ।
यसअघि एउटै पार्टीमा हुँदा केही नेताहरूले प्रचण्डमाथि प्रश्न उठाउने गर्दथे । तर, पार्टीभित्र अलग समूहको नेतृत्व गर्ने लगभग सबै नेताहरू बाहिरिएपछि पार्टी कमजोर र प्रचण्ड झनै बलशाली भए भने पार्टीका उपल्ला कमिटी भारदारी सभामा रूपान्तरित हुन पुगे । अहिले अधिकांश माओवादी नेताहरूले अनौपचारिक छलफलमा प्रचण्डबाट पार्टी चल्नै नसक्ने बताउँछन् । तर प्रचण्डको अगाडि बोल्ने हिम्मत गर्न सक्दैनन् । पछिल्लो समय शर्माको अडान र नेतृत्व हस्तान्तरणको बहसले भने प्रचण्डलाई बेचैनी पैदा गराएको छ भने इमान्दार कार्यकर्ताले यसबाट पार्टी पुनगर्ठन हुने अपेक्षा गरेका छन् ।
माओवादी आन्दोलनको इतिहासमा मोहन वैद्य, बाबुराम भट्टराई, नेत्रविक्रम चन्द विप्लव लगायत नेताहरू पार्टीमा रहँदा प्रचण्डसँग वैचारिक बहस गर्ने गर्दथे । उनीहरूको पालामा पार्टीमा वैचारिक संघर्ष गर्दै प्रचण्डको एकाधिकार विरुद्ध लड्ने आँट गरेका थिए । तर ती सबै नेताहरू एकपछि अर्को गर्दै लर्को लागेर बाहिरिएपछि पार्टीमा अहिले प्रचण्ड झनै सर्वेसर्वा हुँदै एकाधिकार व्याप्त छ ।
सम्पूर्ण प्राधिकार आफूमा निहित गर्दै पार्टीलाई निजी कम्पनीमा परिणत गरेका छन् । प्रश्न उठाउनेलाई पार्टी छाडेर जान सुझाव दिन्छन् । अनेकौँ प्रतिकूलताका बाबजुद पनि जनार्दनले प्रचण्डको एकाधिकार तोड्ने प्रयत्न गर्दै पार्टीलाई जीवन्त बनाउन प्रयासरत छन् । यो कसै न कसैले गर्नैपथ्र्यो, त्यो आँट उनले गरे ।
बैठकमा सहभागी अधिकांश स्थायी समिति सदस्यले शर्माको आलोचना गरेपनि उनी आफ्नो एजेण्डाबाट विचलित नहुने अडानमै रहेपछि प्रचण्ड शर्मासँग थप रुष्ट बनेर अनेकौँ षड्यन्त्रका तानाबाना बुन्न व्यस्त छन् ।
पार्टीमा करिब चार दशकदेखि नेतृत्वमा रहेका प्रचण्ड पार्टीको उत्थान र पतको प्रमुख भागीदार उनी आफैँ हुन् । २०६४ मा आएको ३१ लाख जनमतको उभार अनि अहिले ११ लाखमा सीमित हुनुपरेको दयनीय अवस्था यो सबै प्रचण्ड नेतृत्वकै उपज हो । यसको नैतिक जिम्मेवारी उनले लिनैपर्छ । आफ्ना वरिपरि आसेपासे राखेर स्तुति गाउन लगाउँदैमा सत्य कदापि छोप्न सकिँदैन ।
पार्टी विधिमा सञ्चालन गर्नका लागि सर्वप्रथम नेतृत्व रूपान्तरित हुनैपर्छ । त्यसका लागि प्रचण्डसहित सबै पदाधिकारी तहका नेताहरू आत्माआलोचित हुँदै रूपान्तरित भएर नयाँ शिराबाट पार्टी पुनर्गठन अभियान थाल्नुपर्छ । यदि, प्रचण्ड बेगर आफ्नो भविष्य नदेख्ने नेताहरूकै पार्टीमा वर्चस्व भए माओवादीको अस्तित्व प्रचण्डको जीवनकालपछि नामेट हुने खतरा छ ।











