Logo
Logo

‘बदनाम’ युवराजको अर्को बद्मासीः जहाज र राज्यकोषको ‘दुरुपयोग’ गरेर किताब प्रचार, यात्रु अलपत्र  !


2.5k
Shares

काठमाडौं । कुनै समय नेपाल वायुसेवा निगम हरेक नेपालीको गर्व थियो– राष्ट्रिय झन्डा बोकेको, मुलुककै पहिलो र एक मात्र राष्ट्रिय ध्वजावाहक संस्था । तर आज त्यो संस्था बन्द हुने अवस्थामा पुगेको छ । ६६ वर्षको गौरवपूर्ण इतिहास बोकेको निगम आज आर्थिक संकटको दलदलमा फसेको छ । राजनीतिक हस्तक्षेप र कमजोर व्यवस्थापनले लामो समयदेखि नै समस्यामा परेको निगम हाल करिब ५० अर्ब रुपैयाँ ऋणमा डुबेको छ । निगम यो हालतमा पुग्नुको मुख्य कारण  व्यवस्थापनको लापरबाही हो ।

निगममा भएको लापरबाहीको पछिल्लो उदाहरण हो– काठमाडौं र साउदीमा कामदार अलपत्र पारेर निगमका अध्यक्षलाई लिन जहाज हङकङ पठाउनु । ‘९ एन–एकेडब्लु’ न्यारो बडी जहाज सोमबार साँझ प्राविधिक समस्याका कारण ग्राउन्डेड भएपछि साउदीको दम्मामका लागि निर्धारित उडान स्थगित भयो । 

सोमबार राति १०ः२५ बजेका लागि तय भएको उडान रद्द भएपछि दम्माम उड्न विमानस्थल पुगेका ७४ यात्रुलाई होटेलमा राखियो । उता, दमामबाट काठमाडौं फर्किन विमानस्थल पुगेका एक सय यात्रुलाई पनि होटेलमा राखियो । 

सोमबार उडान रद्द भएपछि उपलब्ध अर्को जहाजले ती यात्रु लिएर मंगलबार दम्माम उड्नुपर्ने थियो । तर, एकदिनका लागि निगमको कार्यक्रम र बाँकी आफ्नो कविता सङ्ग्रह प्रचारका लागि हङकङमा रहेका कार्यकारी अध्यक्ष अधिकारीलाई लिएर आउनुपर्ने भएकाले निगमले दम्माम आउनेजाने यात्रु अलपत्र छाडी हङकङ उडान ग¥यो । 

राज्यकोषबाट किताब प्रचार

अध्यक्ष अधिकारी हङकङ भ्रमणमा निगमको मार्केटिङका लागि गएका भनिए पनि मुख्य उद्देश्य आफ्नै कविता सङ्ग्रह ‘युद्ध, युद्ध नै हुन्छ’ को प्रचार रहेको देखिन्छ ।

हङकङमा मार्केटिङका लागि अध्यक्ष अधिकारी, वरिष्ठ क्याप्टेन विजय लामा, निगमका कर्पोरेट डाइरेक्टर टंकनिधि दाहाल गरेका थिए । ती सबै अधिकारीको भ्रमण खर्च निगमले नै बेहोर्ने हो । बजार विस्तारको एजेन्डा राखेर अधिकारी आफैँले आफ्नो सात दिने बिदा स्वीकृत गराएर हङकङ गएका थिए । तर, निगमको पब्लिसिटी गर्ने भन्दै आफ्नो भ्रमण आफैँले स्वीकृत गरेर गएका अधिकारीले आफ्नो किताबको पब्लिसिटीमा एक साता हङकङमा बिताएको देखिन्छ ।

उनले केही समयअघि नै प्रकाशन गरेको यो कविता सङ्ग्रह नेपालमा यसअघि नै विमोचन समेत भइसकेको थियो । नेपाली समुदायको ठूलो उपस्थिति रहेको हङकङमा आफ्नो कविता सङ्ग्रह प्रचारप्रसार र बिक्री गर्ने उद्देश्यले अधिकारीले यो भ्रमण तय हो । हङकङमा १७ साउन एकदिन मात्रै निगमको कार्यक्रममा अधिकारी सहभागी भएका हुन् ।

बाँकी दिन उनले आफ्नो किताबको प्रचारप्रसार गरे, जसका लागि निगमका उच्च पदस्थलाई पनि उनले प्रयोग गरेका छन् । यसरी अधिकारीको किताबको प्रवर्द्धन गर्ने प्रयोजनका लागि निगमका चार जना उच्चपदस्थले भ्रमण भत्ता, होटेल लगायतमा निगमको लाखौँ रुपैयाँ फुर्मास गरेका छन् ।

लगातारका विवाद र आरोप

अध्यक्ष युवराज अधिकारीमाथि यसअघि पनि अनेकौँ विवाद र गम्भीर आरोपहरू लागिसकेका छन् । २०७९ सालमा तत्कालीन पर्यटन मन्त्री प्रेम आलेले उनलाई बर्खास्त गरेका थिए, तर अधिकारीले सर्वोच्च अदालतबाट अन्तरिम आदेश ल्याएर पुनः पदमा फर्किएका थिए । त्यस्तै, उनले बिना स्वीकृति कम्पनीहरूलाई जहाज मर्मतको जिम्मा दिएका थिए । 

अधिकारीले आर्थिक प्रलोभनमा परेर नेपाल एयरलाइन्सका न्यारोबडी जहाजको सी चेक गर्न भन्दै रिवेयर नेपाल प्रालि (एमआरओ चाइना साउथन एयरलाइन्स कम्पनी लिमिडेट शेनयाङ मेन्टेनेस बेस चीन) कम्पनीसंग दुईपक्षीय सम्झौता गरेका थिए । त्यसबेला नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति नलिएर सम्झौंता गरेपछि क्यानले स्पष्टीकरण समेत सोधेको थियो । 

त्यस्तै दुई वर्षअघि निगमको लापरवाहीकै कारण ह्याकरले २ करोड रुपैयाँ चोरी गरेका थिए । अहिलेसम्म न त त्यो रकम फिर्ता भएको छ, न त संलग्न कर्मचारीमाथि कारबाही नै भएको छ । रकमको विषयमा जानकारी लिन जाने भन्दै कर्मचारीलाई दुबई घुम्ने अवसर मात्रै मिल्यो । त्यसबेला पनि अध्यक्ष अधिकारीको तीव्र आलोचना भएको थियो । 

निगमको विद्यमान अवस्थाको सुधारका लागि पटकपटक अध्ययन समिति बने पनि तिनको कार्यान्वयन हुन सकेको छैन । एक समयको गौरव बोकेको यो संस्था व्यवस्थापनकै लापरबाहीले आज बन्द हुने डिलमा पुगेको छ । अब पनि यस्तै लापरबाही दोहोरिरहने हो भने र व्यवस्थापनमा सुधार नआउने हो भने, यो संस्था सधैँका लागि इतिहासको पानामा सीमित हुनेछ । 

प्रतिक्रिया दिनुहोस्