Logo
Logo
टिप्पणी

राष्ट्रिय सभामा एमाले दुई सिटमा खुम्चिँदै


12.5k
Shares

काठमाडौं । कांग्रेसको साथ नभए सरकारबाट सधैँ बाहिर रहनुपर्ने अवस्थामा रहेको सत्तारुद्ध दल नेकपा एमाले फागुनपछि राष्ट्रिय सभामा दुई सिटमा झर्न सक्ने अवस्था देखिएको छ । संसदीय अंक गणितमा पछिल्लो पटक एमालेले राष्ट्रिय सभामा निकै कमजोर दल बन्न पुग्ने अवस्था सिर्जना हुन लागेको हो । यद्यपि, कांग्रेसको साथ रहिरहेमा यो अवस्था नआउन पनि सक्छ । यदि, कांग्रेसको साथ नरहने हो भने राष्ट्रिय सभामा एमाले दुई सिट हुँदै शून्य सिटमा झर्नसक्ने खतरा पनि उत्तिकै रहेको छ ।

राष्ट्रिय सभामा आगामी फागुन २० सम्म पदावधि कायम भएका सांसदहरूमध्ये एक मनोनीतसहित १७ जना कम्युनिस्ट पृष्ठभूमिका सांसद छन् । कांग्रेसका एक जनाको पनि फागुन २० मा पदावधि सकिँदै छ । जसमा एमालेका ८, माओवादी केन्द्रका ७, एकीकृत समाजवादीका १, जनता समाजवादी पार्टी नेपालका १, लोकतान्त्रिक समाजवादी पार्टीका १ र मनोनीत १ सांसदको पदावधि सकिनेछ । त्यतिबेला एमाले सरकार बाहिर रहेमा दुई सिट मात्रै बाँकी रहनेछ ।

कांग्रेस र एमाले वर्तमान गठबन्धन कायम रहेमा आगामी फागुन २० पछि रिक्त हुने सांसदको पदपूर्तिका लागि एमाले आठ वा नौ सिट प्राप्त गर्ने एमालेको अनुमान छ । गठबन्धन नभएमा भने शून्य नतिजा आउने हुँदा एमालेका दुई जनामात्र सांसद मात्र बाँकी रहनेछन् । जसबाट २०८४ सम्म एमालेका दुई सांसद रहने छन् । हाल बनिरहेको गठबन्धन कायम भएमा एमालेले आठ वा नौ सिट प्राप्त गर्नेछ ।

राष्ट्रिय सभाका सांसदको संख्या सत्ता गठबन्धनले नै निर्धारण हुनेछ । सत्ता गठबन्धनमा केही असन्तुष्टिहरू बाहिर आइरहेको पनि छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल यो गठबन्धन फुटाउनमा लागि रहेकाले पनि त्यतिबेलासम्म वर्तमान गठनबन्ध टिक्छ वा टिक्दैन भन्ने विषयमा अन्योल नै देखिएको छ ।

एमालेमा आगामी फागुन २० मा एक सिट पनि प्राप्त नभएमा २०८४ फागुन २० सम्म पदावधि भएका सोनाम गेल्जेन शेर्पा र २०८६ फागुन २० सम्म पदावधि भएका रुक्मिणी कोइराला बाँकी रहने छन् । वर्तमान कांग्रेस एमाले गठबन्धन कायम रहेमा आगामी फागुन १९ गते ६ बर्से कार्यकाल सकिएर बिदा हुने सांसदमा कांग्रेस र एमालेलाई फाइदा हुनेछ । कांग्रेसका अहिले १६ सांसद छन् । गठबन्धन बनेमा आठ वा नौ सिट बढ्न सक्ने देखिन्छ । एमालेको बढेर दश वा ११ सिट हुन सक्ने छ ।

जसबाट राष्ट्रियसभा अध्यक्ष माथि नै दुई तिहाइले हटाउन सक्ने अवस्था पनि आउन सक्ने अनुमान गरिएको छ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल माओवादी कोटाबाट अध्यक्ष बनेका हुन् । माओवादीको संख्या घट्ने र कांग्रेस र एमालेको संख्या बढ्दा यो चुनौति आउन सक्ने अनुमान गरिएको छ । ५९ सदस्यीय राष्ट्रियसभामा दुई तिहाइ पुग्नका लागि ४० मतको आवश्यक पर्दछ । दुई तिहाइले हटाउने अवस्था आएमा कांग्रेसले कृष्णप्रसाद सिटौलालाई राष्ट्रियसभा अध्यक्षमा अघि बढाउन सक्ने देखिएको स्रोतले बतायो ।

२०८२ मा कांग्रेस सांसदको पदावधि नसकिएकाले कांग्रेसका सांसदको पदावधि सकिन २०८४ सम्म कुर्नुपर्ने अवस्था छ । २०८४ फागुन २० मा पदावधि कायम रहेका २० जना सांसदहरूमा भने कांग्रेसका ६ जनाको पदावधि सकिँदै छ । जसमा गोपालकुमार बस्नेत, कृष्ण प्रसाद पौडेल, कमला पन्त, युवराज शर्मा, दुर्गा गुरुङ र नारायणदत्त मिश्रको पदावधि सकिँदै छ । सो समयमा माओवादी केन्द्रका ५ जनाको पदावधि सकिँदै छ । २०८४ सम्ममा एकीकृत समाजवादीका ५ जनाको पनि पदावधि सकिँदै छ ।

सो समयमा एमालेका एक जनाको पदावधि सकिँदै छ । जसमा सोनाम गेल्जेन शर्मा रहेका छन् । राष्ट्रिय जनमोर्चा १ र मनोनीत माओवादी केन्द्रसँग सम्बन्धित रहेर सांसद बनेका राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालको पदावधि पनि २०८४ फागुन २० सम्म रहनेछ । राष्ट्रियसभाका सदस्यहरू अप्रत्यक्ष मतपत्रद्वारा निर्वाचित हुन्छन् र ६ वर्षको कार्यकाल पूरा गर्दछन् र एक तिहाइ सदस्यहरू प्रत्येक दुई वर्षमा सेवा निवृत्त हुन्छन् । २०७४ सालपछि प्रत्येक दुई वर्षमा एक तिहाइ सदस्यको निर्वाचन हुँदै आएको छ ।

आगामी फागुन १९ गते ६ बर्से कार्यकाल सकिएर बिदा हुने राष्ट्रियसभा सांसदहरूमा एमालेका ८, माओवादी केन्द्रका ७, एकीकृत समाजवादीका १, जनता समाजवादी पार्टी नेपालका १, लोकतान्त्रिक समाजवादी पार्टीका १ र मनोनीत १ सांसद छन् । अहिले एमालेको १०, माओवादी केन्द्रको १७, जनता समाजवादी (जसपा) को ३ सिट रहेको छ । लोसपा १ सिट रहेको छ । मनोनीत ३ मध्ये बामदेव गौतमको मात्रै पदावधि सकिन लागेको हो । पदावधि सकिनु भन्दा ३५ दिनभन्दा अघि रिक्त हुने पदमा निर्वाचन हुनेछ ।

राष्ट्रियसभामा सत्तापक्ष कांग्रेसको १६, एमालेको १०, जसपाको ३, लोसपाका १ गरी ३० मत रहेको छ । विपक्षमा माओवादी केन्द्रको १७, एकीकृत समाजवादीको ८, राष्ट्रिय जनमोर्चाको १ रहेका छन् । मनोनीत ३ मध्ये एक जना राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, बामदेव गौतम र डा.अन्जान शाक्य रहेका छन् ।

आगामी फागुनमा पदावधि सकिने एमालेका सांसदहरूमा इन्दिरा देवी गौतम, गोपाल भट्टराई, तुलसाकुमारी दाहाल, देवेन्द्र दाहाल, भगवती न्यौपाने, उपाध्यक्ष विमला घिमिरे, शारदा देवी भट्ट र सुमित्रा बीसी छन् ।

बिदा हुने माओवादी सांसदहरूमा गोपीबहादुर सार्की अछामी, गङ्गाकुमारी बेलवासे, जगप्रसाद शर्मा, तारामान स्वाँर, नारायणकाजी श्रेष्ठ, मायाप्रसाद शर्मा र राधेश्याम पासवान छन् । एकीकृत समाजवादीका बेदुराम भुसाल, जनता समाजवादी पार्टी नेपालका मृगेन्द्रकुमार सिंह यादव र लोकतान्त्रिक समाजवादी पार्टीका शेखरकुमार सिंहको कार्यकाल पनि आगामी फागुनमा सकिनेछ । उनीहरूको कार्यकाल सकिएपछि राष्ट्रिय सभामा एमालेको हैसियत सबैभन्दा सानो हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्