काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागूऔषध कोकिन सहित एक विदेशी महिला पक्राउ परेकी छन् । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय त्रिभुवन विमानस्थलको टोलीले विमानमार्ग हुँदै नेपाल प्रवेश गरेका उनीमाथि निगरानीका क्रममा ती अस्ट्रेलियन युवती समातिएकी हुन् ।

ब्युरोका अनुसार २१ वर्षीया ब्राजिलियन नागरिक इमिली मिकाएले सान्तोष फेरेरालाई कतारको दोहा हुँदै नेपाल आएर भुटान जान लाग्दा विमानस्थलको प्रस्थान कक्षमा पक्राउ गरिएको हो ।
उनलाई चेकजाँच गर्दा स्वेटरको कालो रङको ब्राभित्र कण्डममा भरेर लुकाएर राखिएको लागूऔषध कोकिन १ केजी ९५० ग्रामसहित पक्राउ गरिएको हो ।
ब्राजिलबाट कतार हुँदै आएकी फेरेराले ब्राभित्र लुकाएर राखिएको कोकिन प्लास्टिकमा प्याक गरेको अवस्थामा फेला परेको हो । प्रहरीका अनुसार उनीमाथि लागू औषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट थप म्याद लिई अनुसन्धान अघि बढाइएको छ।
यस घटनालाई लागू औषध तस्करीका अन्तर्राष्ट्रिय सञ्जालसँग जोडिएको आशङ्का गरिएको छ । यसबारे थप अनुसन्धान भइरहेको छ ।














