
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टस् एन्ड म्यानुफ्याक्चरस् एसोसिएसन (नाइमा)ले प्रदर्शन अवधि एक दिन थप गरेको छ ।
‘नाइमा नेपाल मोबिलिटी एक्स्पो– २०२५’ मा अपेक्षा गरेभन्दा बढी दर्शकको आगमनले प्रर्दशनीस्थलमा रौनक छाएपटि उत्साहित भएको नाइमाले प्रदर्शन अवधि एक दिन थप गरेको हो । यससँगै २१–२५ साउनसम्म सञ्चालन हुने तय भएको प्रदर्शनी अब भोलि अर्थात २६ साउनसम्म खुला रहनेछ ।
आफूलाई मनपर्ने सवारीसाधनहरू अवलोकन गर्ने, सोधपुछ गर्ने, बुकिङ गर्ने, साथै खरिद गर्नेहरूको घुइँचो रहेको प्रदर्शनी शनिबारको मुसलधारे पानीमा पनि निर्वाध सञ्चालन भएको थियो । अरु दिन कार्यालयमा व्यस्त रहने व्यक्तिहरूले शनिबार उत्साहका साथ प्रदर्शनीमा सहभागिता जनाएका थिए ।
एक्स्पोका प्रारम्भिक तीन दिनमा सर्वसाधरणका साथै वरिष्ठ कलाकार, कूटनीतिक नियोगका कर्मचारीहरू, सरकारी तथा गैरसरकारी संस्थाका व्यक्तिहरू, व्यापारीलगायत व्यक्तिहरूले उपस्थिति जनाएका छन् ।
प्रदर्शनीको पहिलो दिन १५ हजार, दोस्रो दिन साढे १३ हजार, तेस्रो दिन साढे १९ हजार र शनिबार २१ हजार ५ सय अवलोकनकर्ताहरूले नाइमा नेपाल मोबिलिटी एक्स्पो– २०२५ मा सहभागिता जनाएका छन् ।
स्थापनाको पहिलो वर्षमा नै एक्स्पो गरेर आफ्नो स्थापनाको औचित्य पुष्टि गरेको नाइमाले आगामी दिनहरूमा पनि नेपालको मोबिलिटी क्षेत्रमा अझ ठूलो योगदान पु¥याउन प्रतिबद्ध रहेको जनाएको छ । नाइमा नेपाल मोबिलिटी एक्स्पो– २०२५ मा ५० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरू सहभागी छन् ।











