काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले साउन २७ गते ‘दि फ्युचर लिडर्स समिट’ आयोजना गर्ने भएको छ । सांसद डा. तोसिमा कार्कीको नेतृत्वमा रहेको युवा तथा खेलकुद विभागले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा ललितपुरमा यो समिट आयोजना गर्न लागेको हो ।

आइतबार वनस्थलीस्थित केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा विभागले युवाहरूको सीप विकास, डिजिटल साक्षरता र मानसिक स्वास्थ्य जस्ता विषयमा जनचेतना फैलाउने उद्देश्यले समिट आयोजना गर्न लागिएको जानकारी दिएको छ ।
सातै प्रदेशका युवाहरूको सहभागिता रहने डा.कार्कीले बताइन् । ‘युवाहरू राजनीतिमा सक्रिय हुनुपर्छ र राज्य सञ्चालनमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ भन्ने कुरामा समिट केन्द्रित हुनेछ। अबको नेपाल युवाले नै डोर्याउनुपर्छ,’ उनले भनिन् ।














