
काठमाडौं । टर्कीको उत्तर–पश्चिम प्रान्त बालिकेसिरमा गएको भूकम्पमा परि एक जनाको मृत्यु भएको छ । स्थानीय समयअनुसार आइतबार साँझ आएको ६.१ म्याग्निच्युडको भूकम्पमा परि एक जनाको मात्रै मृत्यु भएको हो ।
भूकम्पको केन्द्रविन्दु भएको सिन्डिर्गी सहरमा ८१ वर्षीया महिलाको मृत्यु भएको त्यहाँको गृह मन्त्रालयले जनाएको छ । भग्नावशेषबाट बाहिर निकालेलगत्तै उनको ज्यान गएको बीबीसीले जनाएको छ ।
सरकारी तथ्यांक अनुसार भूकम्पका कारण १६ वटा भवन भत्किएका छन् र २९ जना घाइते भएका छन् । टर्कीको विपद् व्यवस्थापन कार्यालयका अनुसार भूकम्पको धक्का राजधानी इस्तानबुलसम्म महसुस भएको थियो । भूकम्प पछि दर्जनौंपटक परकम्पले धर्ती हल्लिएको थियो ।











