
काठमाडौं । आज साउन महिनाको अन्तिम सोमबार काठमाडौंको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयहरूमा बिहानैदेखि भक्तजनको घुँइचो लागेको छ ।

पशुपति क्षेत्र विकास कोषका अनुसार पशुपतिनाथ दर्शनको लागि हजारौँ भक्तजन उज्यालो नहुँदै मन्दिर क्षेत्रमा पुगेका थिए । आज बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको छ । यस वर्ष साउनमा चार वटा सोमबार परेका छन् ।

आज चौथो सोमबार विगतका तीन सोमबार भन्दा पशुपतिमा भक्तजनको बढी घुइँचो देखिन्छ । त्यस्तै आज काठमाडौं उपत्यकाका अन्य शिवालयहरू गोकर्णेश्वर महादेव मन्दिर, पेप्सीकोलाको नागेश्वर मन्दिर, वसन्तपुरस्थित सानो पशुपतिनाथ मन्दिरलगायतका देशभरका शिवालयमा भक्तजनको भिड लागेको छ ।

हिन्दु धर्मालम्बीले साउन महिनाको सोमबार उपवास बसी भगवान् शिव र पार्वतीको पूजाआराधना गर्ने परम्परा छ । साउने सोमबार विधिपूर्वक शिवको आराधना गर्दा परिवारमा सुख शान्ति र समृद्धि आउने विश्वास छ ।


















