Logo
Logo

माओवादीका वडाध्यक्षसँग भारतको नागरिकता, छानबिन जारी


2.3k
Shares

रौतहट । रौतहटको दुर्गाभगवती गाउँपालिका–४ का वडाध्यक्ष रामानन्द प्रसादसँग नेपाल र भारत दुवै देशको नागरिकता भएको खुलासा भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको आधारमा जिल्ला प्रशासन कार्यालय रौतहटले गत साउन ७ गतेदेखि यसबारे छानबिन सुरु गरेको हो। प्रशासनले वडाध्यक्ष रामानन्दलाई कार्यालयमा बोलाएर बयान लिएको छ।

प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काका अनुसार रामानन्दसँग नेपालको मात्र नभई भारतको बिहार, पूर्वी चम्पारनको नागरिकता पनि रहेको पुष्टि भएको छ। उनले भारतमा ‘पप्पु यादव’ नामबाट नागरिकता लिई त्यही आधारमा भारतीय निर्वाचन आयोगबाट मतदाता परिचयपत्र समेत प्राप्त गरेका छन्।

परिचयपत्रमा उनले बुवाको नाम सियारामप्रसाद यादव उल्लेख गरेका छन् भने २३ मार्च २००९ मा जारी भएको मतदाता परिचयपत्रमा जन्ममितिसन १९८२ उल्लेख गराएका छन्।

परिचयपत्रमा उल्लेख भएअनुसार उनको ठेगाना ‘परेवा सहररगाँव–परेई, अञ्चल–चिरैया, जिल्ला– पूर्वी चम्पारन– ८४५४१८ उल्लेख छ। मतदाता परिचयपत्र नम्बर भने वाइडब्लुएक्स ०११५०३१ रहेको छ।

नेपालमा भने उनले रौतहटबाट २०४७ जेठ २३ गते जारी भएको नागरिकता (नं. ३२०) लिएका छन्। यसमा उनका पिताको नाम रामचन्द्र कापड यादव र ठेगाना पञ्चरुखी गाविस–३ उल्लेख छ। सो नागरिकताका आधारमा उनले नेपालको मतदाता परिचयपत्र पनि लिएका छन्, जसमा नाम रामानन्द प्रसाद, पिताको नाम रामचन्द्र कापड र आमाको नाम कान्ति देवी उल्लेख छ।

‘नेपालको नागरिकता र भारतको मतदाता परिचयपत्रमा एउटै फोटो प्रयोग भएको छ,’ प्रजिअ खड्काले भने, ‘छानबिनका क्रममा नेपालस्थित भारतीय दूतावाससँग पत्राचार गरिएको छ।’ रामानन्दविरुद्ध करिब दुई महिनाअघि अख्तियारमा परेको उजुरी गृह मन्त्रालयमार्फत प्रशासनमा आएको हो।

तर, वडाध्यक्ष रामानन्दले भने छानबिनका क्रममा बयान दिएको स्वीकार गर्दै आफू पुस्तौँदेखि नेपाली नागरिक भएको र दोहोरो नागरिकता नलिएको दाबी गरेका छन्। उनी नेकपा ९माओवादी केन्द्र०बाट निर्वाचित वडाध्यक्ष हुन्।

प्रतिक्रिया दिनुहोस्