काठमाडौं । राष्ट्रिय मुक्ति पार्टीले सरकारको लापरबाहीकै कारण कैलाली कारागारभित्र हिंसात्मक झडप भएको आरोप लगाएको छ । झडपमा परेर भरत चौधरी मृत्यु हुनुका साथै ४८ जना कैदीबन्दी घाइते भएका थिए ।

पार्टीका प्रवक्ता रवीन्द्र कुमार श्रेष्ठले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘कारागार प्रशासनको गम्भीर सुरक्षा लापरबाही र राज्यको उदासीनताले एउटा जीवन समय अगावै समाप्त भयो । राज्यको सुरक्षा नियन्त्रण भित्र यसरी मृत्यु हुनु सामान्य घटना होइन । सुरक्षा संयन्त्रको नियन्त्रणमा पनि नागरिक सुरक्षित नहुने अवस्था गृह प्रशासनको चरम लापरबाहीको रूपमा लिएका छौँ ।‘
यो घटनालाई केवल अचानक भएको झडप भनेर लुकाउन खोज्ने प्रयासलाई अस्वीकार गर्ने बताएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘५९० भन्दा बढी कैदीबन्दीको हस्ताक्षरसहित कारागारभित्रको सुरक्षा अभाव र तनावबारे राज्य पक्षलाई अग्रिम जानकारी दिइएको थियो, तर आवश्यक सतर्कता, व्यवस्थापन र सुरक्षाको कदम चालिएन । यसको सम्पूर्ण जिम्मेवारी गृह प्रशासनले लिनुपर्नेछ । उपरोक्त घटना स्पष्ट प्रमाण हो, कि यो केवल दुर्भाग्य होइन, बरु गम्भीर लापरबाही र संवेदनहीनताको परिणाम हो ।’ घटनाबारे छानबिन गर्नको लागि ६ बुँदे माग पनि अघि पारेको छ ।















