काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले एक वर्षको अवधिमा वर्तमान सरकारले आफ्नो औचित्य गुमाउँदै गएको बताएका छन् । मङ्गलवार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै बस्नेतले एक वर्षको अवधिको अवधिमा ठुला दल मिलेर गठन भएको वर्तमान सरकारले आफ्नो औचित्य गुमाउँदै गएको बताएका हुन् ।

उनले भारतको उत्तराखण्डमा आएको बाढीमा बेपत्ता नेपालीहरूको खोजी कार्यका लागि सरकारले कुनै पहल गर्न नसकेको बताए । उनले कुटनीतिक तवरबाट उक्त घटनामा बेपत्ता भएका नेपाली नागरिकको खोजीका लागि भइरहेको पहलका बारेमा सदनमा जानकारी दिन सरकारसँग माग गरे ।
बस्नेतले मधेश प्रदेशलाई सुख्खा ग्रस्त क्षेत्र घोषणा गरेर मात्रै नपुग्ने भन्दै सो क्षेत्रका जनतालाई सरकारी तवरबाट भएको राहत लगायतका कामका बारेमा समेत जानकारी गराउन माग गरे ।
उनले कैलाली कारागारमा भएको घटना सुरक्षाकमजोरीमात्रै नभई सरकारको गैरजिम्मेवारपन व्यवहारको परिणाम भएको आरोप लगाए ।














