काठमाडौं । पुनरावेदन अदालत पाटनले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) विरुद्ध पूर्वअध्यक्ष गणेश थापा र उनका छोरा गौरव थापाले दायर गरेको रिट खारेज गरेको छ । गणेश थापाले एन्फा र अध्यक्ष पङ्कजविक्रम नेम्बाङविरुद्ध अदालतको अवहेलना भएको दाबीसहित दायर गरेको रिटमा पर्याप्त आधार नभएको भन्दै अदालतले खारेज गरेको हो ।

थापाले १९ वैशाखमा एन्फाको साधारण सभाको वैधानिकता र आफ्नो सहभागिताको माग गर्दै रिट दायर गरेका थिए । यस्तै, गौरव थापाले २३ वैशाखमा साधारण सभामा सहभागिताको विषय र २ जेठमा अदालतको अवहेलनासम्बन्धी मुद्दा दायर गरेका थिए ।
उनले पनि एन्फा र अध्यक्ष नेम्बाङलाई विपक्षी बनाएका थिए । २६ वैशाखमा काभ्रेको धुलिखेलमा आयोजित एन्फाको साधारण सभामा गणेश थापाले फिफाको १० वर्षे प्रतिबन्धको अवधि सकिएको दाबी गर्दै सहभागिताको माग गरेका थिए । तर, एन्फाले प्रक्रियागत कमी भएको भन्दै दुवैलाई सभामा प्रवेश दिएन ।
अदालतले गणेश थापाको रिट ४ असारमा र गौरव थापाको रिट बुधवार खारेज गरेको हो । यसअघि रमेश रायमाझीले ११ जेठमा र रबिन चन्दले दायर गरेको एन्फाविरुद्धको रिट पनि खारेज भइसकेका छन् ।














