काठमाडाैं । चिकित्सा शिक्षा आयोगले एमबीबीएस र बीडीएस अध्ययनका लागि सिट सङ्ख्या बढाएको छ । आज सिंहदरबारमा बसेको आयोगको २१औं बैठकले यसअघि तोकिएको सिट सङ्ख्यामा वृद्धि गर्ने निर्णय गरेको हो ।

यसअघि गठन गरेको सिट निर्धारण समितिको सिफारिश अनुसार १ सय सिट रहेको एमबीबीएसको सिट बढाएर १ सय ३० सम्म र ५० सिट रहेको बीडीएसलाई ६० सिटसम्म पुर्याउने निर्णय गरेको आयोगले जनाएको छ ।
निर्णय अनुसार सबैभन्दा धेरै १ सय ३० सिट पाउने मेडिकल कलेजहरूमा विराट मेडिकल कलेज, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेस पर्छन् । पोखराको मणिपाल शिक्षण अस्पतालले १ सय २० सिट पाएको छ ।
गएको असार ३२ गते बसेको आयोगको २०औं बैठकले प्राविधिक तथा व्यावसायिक तालिम परिषद्अन्तर्गत चिकित्सा शिक्षातर्फ प्रमाणपत्र तहका कार्यक्रमको सिट निर्धारण गर्न प्रक्रिया अघि बढाएको थियो ।











