
काठमाडौं । सर्लाहीमा छुट्टाछुट्टै ठाउँमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई युवक घाइते भएका छन् ।
ईश्वरपुर नगरपालिका– १ चौलिखामा मोटरसाइकल दुर्घटनामा हुँदा २४ वर्षीय युवक र चक्रघट्टा गाउँपालिका– ५ पडरियामा मोटरसाइकलले ठक्कर दिँदा ६० वर्षीय वृद्धको मृत्यु भएको हो ।
पोखरियाबाट राइटरखोरतर्फ जाँदै गरेको एचपी ५५ एसी ६१०५ नम्वरको भारतीय मोटरसाइकल अनियन्त्रित भएर नालामा खस्दा चालक २४ वर्षीय अमनदीप रामको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका रामको उपचारको क्रममा गएराति एलएस न्यूरो अस्पताल बारामा मृत्यु भएको प्रहरीले जनाएको छ । तीव्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भएर नालामा खसेको प्रहरीले जनाएको छ।
त्यस्तै गएराति सर्लाहीको चक्रघट्ट गाउँपालिका–५ पडरियास्थित भित्री सडकखण्डमा भारतीय बीआर ३० ए जी ५०३७ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा सोही ठाउँका ६० वर्षीय बरन बैठाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलको ठक्करबाट सोही ठाउँका २० वर्षीय दिपक मण्डल गम्भीर घाइते भएका छन् । उनको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ ।
दुई पैदल यात्रुलाई ठक्कर दिएपछि मोटरसाइकल पल्टिँदा चालक चक्रघट्ट–१ का २० वर्षीय कृष्ण यादव घाइते पनि भएका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका बैठाको उपचारको क्रममा प्रादेशिक अस्पताल मलंगवामा मृत्यु भएको हो । उनको शव पोस्टमार्टमको लागि अस्पतालमै छ । घाइते दुवै युवकको हाल प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ ।














