हेटौंडा । बागमती प्रदेशका नवनियुक्त ५ मन्त्रीहरुले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशको मन्त्रिपरिषद्लाई पूर्णता दिएसँगै नवनियुक्त ५ मन्त्रीले शपथ गरेका हुन् । प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले उनीहरुलाई सपथ ग्रहण गराएका हुन् ।

मुख्यमन्त्री बानियाँले शुक्रबार कांग्रेसबाट युवा तथा खेलकुद मन्त्रीमा उर्मिला केसी नेपाल, सामाजिक विकास मन्त्रीमा कञ्चनचन्द्र बादे, आर्थिक मामिला मन्त्रीमा प्रभात तामाङ, सहकारी तथा गरिबी निवारण मन्त्रीमा विनु रायमाझी र संस्कृति मन्त्रीमा सुरेश श्रेष्ठलाई नियुक्त गरेका हुन् ।
यसअघि कांग्रेसबाट आन्तरिक मामिलामन्त्री शिवराज अधिकारी र खानेपानीमन्त्री कृष्ण तामाङ नियुक्त भएका थिए । बागमतीमा कांग्रेसबाट मुख्यमन्त्रीसहित ८ र एमालेबाट ६ जना मन्त्री छन् । बागमतीमा मुख्यमन्त्रीसहित १४ मन्त्रालय छ ।
मन्त्री नियुक्त गर्दा मुख्यमन्त्री बानियाँले निवर्तमान मुख्यमन्त्री बहादुरसिं लामाका पक्षमा खुलेका कांग्रेसका १४ जना सांसदमध्ये एक जनालाई पनि मन्त्री बनाएनन् ।
कांग्रेस बागमतीमा ३७ जना सांसद रहेका छन् । तीमध्ये बानियाँका पक्षमा २२ जना खुलेका थिएभने एकमत बदर भएको थियो । तामाङलाई संसदीय दल नेतामा हराउँदै बानियाँले जितेपछि मुख्यमन्त्री बनेर विश्वासको मतसमेत लिइसकेका छन् ।
बागमतीमा एमालेबाट दिनेशचन्द्र देवकोटा भौतिक पूर्वाधार मन्त्री, जयराम थापा श्रम तथा रोजगार, भरतबहादुर केसी वन तथा वातावरण, मधुसुदन पौडेल, कृषि तथा पशुपंक्षी मन्त्री, विन्दु श्रेष्ठ उद्योग मन्त्री, किरण थापा मगर स्वास्थ्य मन्त्री बनेका थिए ।











