काठमाडौं । विशेष अदालतका न्यायाधीशहरूको पूरै टिम फेरिएको छ । पाटन उच्च अदालत दरबन्दी भई काजमा विशेष अदालतको अध्यक्षका रूपमा कार्यरत न्यायाधीश टेकनारायण कुँवरसहित ६ जना न्यायाधीशको सरुवा भएको हो विशेष अदालतमा हालसम्म ६ जना न्यायाधीश कार्यरत थिए ।

न्याय परिषद्ले कुँवरलाई उच्च अदालत जनकपुरमा सरुवा गर्न सिफारिस गरेको छ। त्यस्तै, न्यायाधीश तेजनारायण सिंह राईलाई उच्च अदालत पोखरा, रामबहादुर थापालाई उच्च अदालत जनकपुरको राजविराज इजलास, मुरारीबाबु श्रेष्ठलाई उच्च अदालत जनकपुर, रितेन्द्र थापालाई उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्ज, र विदुर कोइरालालाई उच्च अदालत पाटन मातहतको हेटौँडा इजलासमा सरुवा गरिएको छ।
कोइराला केही समयअघि मात्रै विशेष अदालत काजमा खटिएका थिए । उनको सरुवा भने उच्च अदालत पाटनकै दरबन्दीबाट हेटौँडा इजलासमा गरिएको हो ।
यससँगै परिषद्ले ६ जना न्यायाधीशलाई सरुवा गर्ने निर्णयसँगै ५ जना नयाँ न्यायाधीश ल्याउने सिफारिससमेत गरेको छ । विशेष अदालतको अध्यक्षमा उच्च अदालत जनकपुरका न्यायाधीश सुदर्शनदेव भट्टलाई पठाउन सिफारिस गरिएको छ ।
त्यस्तै, सदस्यका रूपमा नारायणप्रसाद पौडेल, हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालालाई विशेष अदालतमा ल्याउने सिफारिस गरिएको हो ।














