Logo
Logo

पुटिनसँगको वार्तापछि ट्रम्पले भने-युद्धविरामको जिम्मा अब जेलिन्स्कीको हातमा छ


2.6k
Shares

अलास्का । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्धविरामको मुख्य जिम्मेवारी युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलिन्स्कीमाथि रहेको बताएका छन् । शुक्रवार अलास्कामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटपछि फक्स न्युजसँगको अन्तर्वार्तामा ट्रम्पले आफू, पुटिन र जेलिन्स्कीबीच चाँडै त्रिपक्षीय बैठक हुने सङ्केत गरे ।

The current image has no alternative text. The file name is: Trump-1.jpg

‘अब यो सम्झौता कार्यान्वयन गर्ने जिम्मा राष्ट्रपति जेलिन्स्कीको हो,’ ट्रम्पले भने, ‘हामीले जेलिन्स्की, पुटिन र मलाई समेट्ने एउटा त्रिपक्षीय बैठकको तयारी गरिरहेका छौँ ।’ ट्रम्पले सम्झौतामा अवरोध भइरहेका बुँदाहरूबारे विस्तृत जानकारी दिन अस्वीकार गरे । 

उनले केवल ‘के गर्न सकिन्छ भनेर हेर्ने’ इच्छा व्यक्त गरे । शुक्रवारको वार्ता पूर्ण रूपमा टुङ्गिन नसके पनि ट्रम्पले यसलाई सफल ठहर गर्दै बैठकलाई १० मध्ये १० अङ्क दिए । ‘हामी निकै न्यानो र सकारात्मक वातावरणमा छलफल गर्न सफल भयौँ,’ उनले भने ।

ट्रम्पका अनुसार, पुटिनसँगको छलफलमा युक्रेन युद्ध अन्त्य गर्न भूमि अदलाबदली र अमेरिकाबाट युक्रेनलाई सुरक्षा आश्वासन दिने विषयमा ‘धेरैजसो सहमति’ भएको छ । ‘हामी धेरै कुरामा सहमत भयौँ, र बैठक सौहार्दपूर्ण वातावरणमा सम्पन्न भयो,’ उनले थपे । ट्रम्पले पुटिनलाई’बलियो र कडा नेता’ को संज्ञा दिए ।’हामी युद्ध अन्त्यको निकै नजिक छौँ, तर अन्ततः युक्रेनले यो सम्झौतामा सहमति जनाउनुपर्छ,’ट्रम्पले भने ।

उनले जेलिन्स्कीलाई सन्देश दिँदै भने , ‘सम्झौता गर्नै पर्छ ।’ यसअघि रुसविरुद्ध कडा प्रतिबन्ध र “गम्भीर परिणाम” को चेतावनी दिएका ट्रम्पले यसपटक भने आफ्नो अडानमा नरम देखिए । ‘आजको बैठकपछि अहिले त्यस्ता कुराहरूबारे सोच्न आवश्यक छैन,’ उनले भने, ‘सायद दुई–तीन हप्तापछि त्यसबारे सोच्नुपर्ला, तर अहिले होइन ।’ यो भेट र छलफलले युक्रेन–रुस युद्धको समाधानतर्फ महत्त्वपूर्ण कदम चालिएको सङ्केत गरेको छ, तर अन्तिम निर्णय भने जेलिन्स्की र युक्रेनको हातमा रहेको ट्रम्पले स्पष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्