काठमाडौं । नेपाली सिनेमा ‘बलिदान’ को टिजर सार्वजनिक भएको छ । सन्तोष सेनको निर्देशनमा बनेको यो फिल्म दशैं फूलपातीको अवसरमा रिलिज हुने भएको छ ।

आसुसेन फिल्म्स प्रोडक्सन र ब्राडफोर्ड ग्लोबलको सहकार्यमा निर्मित यो फिल्मले दर्शकमाझ ठूलो उत्साह सिर्जना गरेको छ । फिल्ममा समीर भट्ट, सौगत मल्ल, रीचा शर्मा, अर्पण थापा, हेमन्त बुढाथोकी, कविता राया, कामेश्वर चौरसिया, प्रजल दुलाल, जीवन बराल र रितेश जंग पौडेल लगायतका कलाकारहरूको दमदार अभिनय रहेको छ ।
टिजरमा समीर भट्टको तीव्र एक्सन र देशभक्तिपूर्ण संवादले दर्शकको ध्यान खिचेको छ । “म देशको शान झुक्न नदिने छोरो हुँ” जस्ता संवादले फिल्ममा देशभक्ति र बलिदानको भावना झल्किन्छ । फिल्मको कथा सामाजिक र राजनीतिक सङ्घर्षको पृष्ठभूमिमा आधारित छ, जसले साहस, बलिदान र लचकताको कथा प्रस्तुत गर्छ ।
निर्देशक सन्तोष सेनले यो फिल्मले समीर भट्टको अभिनयको पूर्ण क्षमता उजागर गर्ने बताएका छन् । टिजरमा देखाइएको एक्सन दृश्य, गंगा-कालीको आशीर्वाद र रक्तरंजित दृश्यले फिल्मको भव्यताको सङ्केत गरेको छ । फिल्मको निर्माण पवन ब्राडफोर्ड बिष्टले गरेका छन् भने प्रेम पुरी कार्यकारी निर्माताको रूपमा छन् । दर्शन जीको लेखन, महेश पौडेलको छायाङ्कन, सुजन चापागाईंको संगीत र स्टनर साम र श्री श्रेष्ठको एक्सन कोरियोग्राफीले फिल्मलाई थप आकर्षक बनाएको छ ।











