नारीहरूको विशेष पर्व तीज नजिकिँदै गर्दा त्यससम्बन्धित गीतसंगीत बजारमा गुन्जिन थालेको छ । कलाकारहरू तीज गीत सिर्जनामा व्यस्त छन् । धार्मिक तथा सांस्कृतिक आस्था बोकेको तीजलाई हिजोआज कलाकारले ‘सांगीतिक उत्सव’कै रुपमा लिँदै आएका छन्, जसले कलाकारलाई फाइदै गरेको छ ।
यसैबिच, यतिखेर गायिका आशा बिसी र राजु परियारको एउटा तीज गीत चर्चामा छ । उक्त गीतमा मोडल अनुशा पन्तले मोडलिङ गरेकी छन् । गीतको चर्चासँगै मोडल अनुशाको पनि चर्चा चुलिएको छ । मोडलिङमा उदाउँदै गरेकी अनुशाले हालसम्म दर्जन हाराहारी म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी छिन् । मोडलिङ करिअर खोज्दै संघर्षरत अनुशा पन्तसँग रेजिना पाण्डेको जम्काभेट :

यसपाली पनि तीज गीतमा छमछम नाचेको देखियो नि ?
हो, भर्खरमात्र आशा बिसीको तीज गीत दर्शक श्रोतामाझ आएको छ । जुन गीतलाई दर्शकले रुचाएका छन् । उक्त गीत सुन्ने र हेर्ने लाखौँ पुगिसकेका छन् । म चार वर्षदेखि तीजको गीतमा मोडलिङ गर्दै आएकी छु । तीज गीतमा नाच्दा मलाई रमाइलो लाग्छ ।
हरेक वर्ष तीजको समयमा कलाकारको पनि बाक्लो उपस्थित देखिन्छ, किन ?
हिन्दु धर्मालम्बी नारीहरूको महान पर्व हो तीज । तीज संगीतमय पर्व पनि हो । पहिलेदेखि नै नाच्चे, गाउने भएर होला तीज पर्वसँगै कलाकारहरू पनि रमाएको पाइन्छ । यो राम्रो कुरा हो । पर्वकै नाममा संगीतमय भएर उलाससँग रमाउन मलाई पनि राम्रो लाग्छ ।
पछिल्लो समय तीज गीतमा पुरुषहरू पनि नाच्ने/गाउने गर्छन् नि ?
तीज पर्व हो । पर्वलाई जसरी पनि उलासमय बनाउने हो । उलास गर्ने बहानाचाहिँ कतै खराब हुन भएन । त्यसैले तीजमा जसले नाचे पनि गाए पनि फरक पर्दैन ।
कहिलेकहीँ तीज गीत भड्किलो भयो भन्छन् नि ?
कहिलेकहीँ कसैले भड्किलो बनाए होला । सयौँको संख्यामा तीज गीत निस्कन्छन् । मन परेको छानेर सुन्ने र हेर्ने हो । तीज गीत भड्किलो भयो भन्दै विवाद गर्नुभन्दा राम्रो गीत सुन्नुस्, हेर्नुस् भन्न चाहन्छु । किनकि, गीत च्वाइस् गर्ने अधिकार तपाईँको हो ।
मोडलिङ क्षेत्रमा तपाईँको आगमन कसरी भयो ?
मेरो बुवा रामजी पन्तले आफ्नो कम्पनी आशिष म्युजिकबाट लोकदेहोरी गीत र म्युजिक भिडियो निकालिरहनुहुन्छ । हाम्रो कम्पनीले दुई दशकदेखि गीतसंगीतकै काम गर्दै आएको हो । यहाँबाट निर्माण हुने अधिकांश भिडियोमा मैले नै मोडलिङ गर्ने अवसर पाएँ । घरभित्रैबाट मेरो मोडलिङ यात्रा सुरु भएको होभन्दा फरक पर्दैन ।
बाहिरी प्रोजेक्ट गर्नुभएको छैन ?
गरेकी छु, तर कम मात्र । अहिलेसम्म दुई/तीन वटा मात्र बाहिरी प्राजेक्ट गरेकी छु । अरु सबै घरभित्रकै प्रोजेक्ट गरेको छु ।
त्यसोभए तपाईँलाई यो क्षेत्रमा काम गर्न सहज भयो, खासै मिहेनत गर्नु परेन ?
त्यसै भन्नुपर्ला । किनकि, आफ्नै होम प्रोडक्सन भएकाले खासै मिहेनत र संघर्ष गर्नु परेन । मेरो बाबा यही क्षेत्रमा हुनुहुन्थ्यो । त्यसैले बाल्यकालदेखि नै उहाँको काम हेरिरहेकी थिएँ । बाबाले पनि हाम्रो लागि उत्तिकै मिहेनत गर्नुभयो । मैले पनि काम गर्दा कहिल्यै लापरबाही गरिनँ । अझ धेरै मिहेनत गर्दै कलाकारितामा चाहिने हरेक चिजहरू सिक्दै गएँ ।
तपाईँ रहरले यो क्षेत्रमा आउनुभएको कि बाबाको करले ?
यसमा चाहिँ मैले दुवै भन्नुपर्छ । बाबाले लोकदोहोरी गीत क्षेत्रमा मिहेनत गरिरहनुभएको थियो । कलाकारलाई गाउनेदेखि मोडललाई लोकदोहोरीमा ल्याउने कामसम्म गरिरहनुभएको छ । अहिले पनि उत्तिकै गरिरहनुभएको छ । बाबाले ‘तिमी पनि गर, यो क्षेत्र राम्रै छ’ भनेपछि मैले गरेको हुँ ।
बाबाले काम गरेको पैसा दिनुहुन्छ ?
दिनु हुन्छ । काम गरेको पैसाले पुगेन भने अझ माग्छु ।
तपाईँ फेसन डिजाइनर पढ्दै हुनुहुन्छ । त्यो केका लागि ?
हो, म आइइसीमा व्याचलर फेसन डिजाइनर पढिरहेको छु । जुन काम गरिरहेको छु, त्यो पनि जरुरी छ जस्तो लाग्छ । किनकि, घरभित्रै बाबा म्युजिक भिडियोमा लगानी गरिरहनु भएको छ । यसमा मैले डिजाइनरको काम गर्न सकेँ भने आफ्नो कम्पनीका लागि राम्रै हुन्छ जस्तो ठानेर यो बिषय पढेको हुँ ।
म्युजिक भिडियोमा मात्र सीमित रहने कि सिनेमातिर पनि आउने योजना छ ?
यही क्षेत्रमा काम गर्ने भनेर आएकी छु । त्यसैले सिनेमातिर पनि अफर आयो भने गर्ने इच्छा छ । हेरौँ यस क्षेत्रमा के गर्न सकिन्छ, बिस्तारै गर्दै जाने हो ।
कुन को–एक्टरसँग चलचित्र गर्न मन छ ?
यस क्षेत्रमा एक जनाको मात्र नाम लिन गाह्रो छ । धेरै राम्रा फिल्म निर्माता, निर्देशक र कलाकारहरू हनुहुन्छ, जोसँग काम गरे पनि मेरो लागि राम्रो अफर हुनेछ । यसमा कुनै शंका छैन ।
भविष्यको योजना के छ ?
हाम्रो अशिष म्युजिक कम्पनीबाट लोकदोहोरी मात्र नभएर अरु पनि गीतका भिडियोहरू निर्माण गर्ने योजना छ । मलाई विदेश जाने रहर र इच्छा छैन । आफ्नै देश नेपालमा बसेर काम गर्ने मेरो उद्देश्य हो ।











