काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग टेलिफोन वार्ता गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार शनिबार रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग करिब तीन घन्टा वार्ता गरेका थिए । सोक्रममा ट्रम्पले जेलेन्स्कीलाई वाशिङटन बोलाएका छन् ।

ट्रम्पले विमानबाटै जेलेन्स्की र नेटो आबद्ध युरोपेली नेतासँग संवाद गरेको ह्वाइट हाउसकी प्रेस सेक्रेटरी क्यारोलिन लेभिटले जानकारी दिएको सीएनएनले उल्लेख गरेको छ । समाचारका अनुसार ट्रम्पले सुरूमा जेलेन्स्कीसँग र पछि युरोपेली नेताहरूसँग अलास्कामा भएको भेटवार्ता र छलफल र त्यसको प्रगतीबारे संवाद गरेका थिए ।
ट्रम्पसँगको कुराकानीपश्चात युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आफू आगामी सोमबार वाशिङ्टन जाने बताएका छन् । ट्रम्पले नै वाशिङ्टन आउन निम्तो दिएको भन्दै उनले त्यसका लागि धन्यवाद पनि भनेका छन।
‘सोमबार वाशिङ्टन डिसी पुगेर राष्ट्रपति ट्रम्पसँग भेट्नेछु र युक्रेनमा जारी हत्या र युद्ध अन्त्यका लागि छलफल गर्नेछु । निम्ताका लागि आभारी छु,’ जेलेन्स्कीले भनेका छन् । उनले युक्रेनमा शान्ति स्थापनाका लागि अधिकतम प्रयत्नका लागि आफू तत्पर भएको पनि बताएका छन् ।
राष्ट्रपति ट्रम्पले अलास्कामा भएको वार्ताबारे जानकारी गराएका थिए । पुटिनसँगको बैठक र त्यसमा भएका मुख्य विषयबारे पनि अवगत गराएको बताउँदै उनले अहिलेको परिस्थिति बन्नुमा अमेरिकाको भूमिका महत्वपूर्ण पनि जेलेन्स्कीले बताएका छन् ।
यस्तै, अलास्कामा पुटिनसँग पनि ट्रम्पले तीन घन्टा लामो वार्ता कुराकानी गरेका थिए । फक्स न्यूजसँग कुरा गर्दै ट्रम्पले भने, ‘अब बल जेलेन्स्कीको कोर्टमा पुगेको छ ।’
उनले भनेका छन्, ‘धेरै बुँदामा सहमत छौं। तर सम्झौता भएको छैन। अन्तिम सहमति नभएसम्म सम्झौता भएको मानिँदैन। तर तत्कालका लागि धेरै प्रगती भएको छ ।’
यस्तै, रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा युद्धविरामका लागि आफ्ना अडानहरू कायमै रहेको बताएका छन् । पत्रकार सम्मेलनका क्रममा पुटिनले युक्रेन युद्धलाई रूसको सुरक्षामा रहेको मौलिक खतरा भनेका छन् ।
न्युयोर्क टाइम्सका अनुसार पुटिनका चार अडान छन् । युक्रेनको ठूलो भू–भाग रूसी नियन्त्रणमा जाने, सेना घटाउने, युक्रेनलाई नेटोमा सहभागी नगराउने र युक्रेनको सरकार परिवर्तन गर्ने पुटिनको अडान रहेको छ । तर, पुटिनको यी मागलाई युक्रेन र पश्चिमी मुलुकहरूले अस्वीकार्य भनेका छन् ।
ट्रम्प र पुटिनबीच वार्ता तय भएपछि युरोपेली मुलुकका नेताहरूले ट्रम्पसँग भर्चुअल संवादसमेत गरेका थिए । त्यस क्रममा उनीहरूले जमिनको अदलाबदलीलगायत युक्रेनको सार्वभौमसत्ता र भौगोलिक अखण्डतालाई असर गर्ने कुनै पनि निर्णय अमान्य हुने बताए ।











