Logo
Logo

एमालेमा कुनै गुट छैन : योगेश भट्टराई


630
Shares

ताप्लेजुङ । नेकपा (एमाले) का सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले एमालेमा कुनै पनि गुट नरहेको बताएका छन् । प्रेस चौतारी ताप्लेजुङले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सम्पूर्ण एमाले एकताबद्ध रहेको दाबी गरे । 

The current image has no alternative text. The file name is: yogesh.gif

भट्टराईले देशको आवश्यकताले नेकपा (एमाले) र नेपाली कांग्रेसको गठबन्धन सरकार बनेको उल्लेख गर्दै आगामी निर्वाचनसम्म यही सरकार कायम रहने बताए । उनले भने, ‘गत वर्ष देशमा विषम परिस्थिति सिर्जना भएकाले एमालेको नेतृत्वमा सरकार गठन भएको हो । सरकारले आर्थिक स्थिति सुधार, अन्तर्राष्ट्रिय सम्बन्ध सुदृढीकरण, कानुन संशोधन र विकासका कामलाई तीव्रता दिएको छ ।’

संविधान संशोधनको प्रसङ्गमा भट्टराईले स्थानीय तहको सङ्ख्या घटाएर वडाको सङ्ख्या बढाउनुपर्ने सुझाव दिए । साथै, उनले उपराष्ट्रपतिलाई राष्ट्रियसभाको अध्यक्ष बनाउने र संवैधानिक आयोगहरूको सङ्ख्या घटाउनुपर्ने धारणा राखे । वर्तमान सरकार गठनपछि मुलुकको अर्थतन्त्र सकारात्मक दिशातर्फ अघि बढेको भन्दै भट्टराईले सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गरेको र लगानीमैत्री वातावरण बनाएको बताए । 

‘सरकारले थुप्रै आर्थिक ऐन संशोधन गरेको छ, नयाँ कानुन बनाएको छ र विदेशी लगानीलाई निरुत्साहित गर्ने कानुन हटाएको छ,’ उनले भने । जिल्लामा सञ्चालित र प्रस्तावित ठूला विकास परियोजनाहरूलाई कुनै पनि अवरोध नगर्न उनले जोड दिए । ‘विकासका परियोजनालाई सहज रूपमा अघि बढाउन सबैले सहयोग गर्नुपर्छ,’ भट्टराईले भने ।

प्रतिक्रिया दिनुहोस्