काठमाडौं । गोंगबुमा श्रीमतीको हत्या गरी बक्स पलङभित्र लुकाएर फरार भएका श्रीमान् पर्साको वीरगञ्जबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बूढानीलकण्ठ नगरपालिका–२ भंगालका २८ वर्षीय सन्तोष सेन्चुरी रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले जिल्ला प्रहरी कार्यालय पर्सासँग समन्वय गरेर भारत भाग्ने क्रममा वीरगञ्जबाट पक्राउ गरेको हो ।

सेन्चुरीलाई थप अनुसन्धान र कानूनी कारबाहीका लागि प्रहरी वृत्त महाराजगञ्जमा बुझाइएको प्रहरीले जनाएको छ ।
तीन दिनपछि होटलमा शव फेला
३० साउन राति करिब ११ बजे गोंगबु मित्रनगरस्थित भीममाया लिंखाले सञ्चालन गरेको कोशी होटल एन्ड लजको कोठा नम्बर २०१ भित्र एक महिलाको शव भेटिएको थियो ।
मृतक २७ वर्षीया ललिता बिक भएको खुलेको छ । उनी सन्तोष सेन्चुरीकी श्रीमती रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा पुष्टि भएको हो ।
२८ साउनमा ललिताका भाइ मोतिरामले दिदी हराएको भन्दै प्रहरीमा उजुरी दिएका थिए । त्यसपछि प्रहरीले सन्तोषलाई समेत सोधपुछ गरेको थियो । तर, ललिताको अवस्था अज्ञात रह्यो ।
तीन दिनपछि होटलको कोठाबाट दुर्गन्ध आउन थालेपछि सञ्चालकले प्रहरीलाई खबर गरेकी थिइन् । प्रहरीले पुगेपछि बक्स पलङभित्र लुकाइएको अवस्थामा ललिताको शव फेला परेको थियो ।
प्रहरीले शवको अवस्था हेर्दा उनको मुखमा कपडा कोचिएको र हत्या गरिएको प्रष्ट भएको जनाएको छ ।
सम्बन्ध बिग्रँदा हत्या
प्रारम्भिक अनुसन्धानअनुसार दुई वर्षअघि विवाह गरेका ललिता र सन्तोषबीच पछिल्लो समय सम्बन्ध तनावपूर्ण भएको देखिएको छ ।
सन्तोषको अर्की महिलासँग सम्बन्ध रहेको थाहा पाएपछि ललिताले विरोध गर्दा दुवैबीच मनमुटाव बढेको अनुसन्धानले देखाएको छ ।
सोही कारण शारिरीक र मानसिक यातना दिंदै आएका सन्तोष र ललिताले सम्बन्ध विच्छेदको निर्णयसमेत गरेका थिए ।
अन्तिम छलफल गर्न भन्दै सन्तोषले २७ साउनमा ललितालाई उक्त होटलमा बोलाएको प्रहरीको भनाइ छ । दिउँसो होटलमा प्रवेश गरेका उनीहरू मध्ये सन्तोष भने साँझ ४ बजेतिर मात्र एक्लै बाहिरिएको सीसीटीभी फुटेजमा देखिन्छ ।
२९ साउनमा प्रहरीलाई बयान दिएपछि फरार भएका सन्तोषले भारत भाग्ने तयारीमा रहेका बेला पक्राउ परेका हुन् ।
अनुसन्धानका क्रममा उनले दुई–तीन घण्टा वादविवाद भएपछि रिसको झोकमा घाँटी थिचेर हत्या गरेको स्वीकार गरेको प्रहरीको दाबी छ ।














