काठमाडौं । नेपाल टेलिकमको ल्यान्डलाइन र मोबाइल फोनमा बजाइने रिङ ब्याक टोन बन्द गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता विमल पोखरेलले नेपाल टेलिकम, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई विपक्षी बनाई रिट दर्ता गरेका हुन् ।

रिटमा टेलिकमको बारम्बार बज्ने अनावश्यक रिङ ब्याक टोनले उपभोक्तालाई हैरानी भएको र यसले निजी दूरसञ्चार कम्पनी वा ह्वाट्सएप, म्यासेन्जर, भाइवरजस्ता विदेशी सेवातर्फ आकर्षित गरेको दाबी गरिएको छ । यस्ता विदेशी सेवा नेपालमा दर्ता नहुँदा राजस्वमा ठूलो नोक्सानी भएको र उपभोक्तालाई सस्तो, गुणस्तरीय सेवा दिनुको सट्टा मानसिक तनाव उत्पन्न भएको उल्लेख छ ।
रिटमा चाडपर्व, मेला, महोत्सव वा विशेष अवसरमा बजाइने रिङ ब्याक टोन तत्काल बन्द गर्न परमादेशसहित आवश्यक आदेश जारी गर्न माग गरिएको छ ।














