
एजेनसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच भेटवार्ता भएको छ । उनीहरुबीच ह्वाइट हाउसमा भेटवार्ता भएको हो । ट्रम्पले जेलेन्स्कीलगायत युरोपेली नेताहरूसँग् गरेको वार्ता सकारात्मक रहेको बताइएको छ ।
युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले युद्ध अन्त्य गर्न चाहेको बताएका थिए । उनले बैठकमा भनेका थिए, ‘हामी सबै युद्ध अन्त्य गर्न चाहन्छौं र रुसलाई रोक्न चाहन्छौं। सुरक्षाको ग्यारेन्टीबारे अझै छलफल हुनेछ । अमेरिकाबाट आएको सशक्त सन्देशले हामीलाई ठूलो भरोसा दिएको छ ।’
ट्रम्पले पनि उनीसँगको भेट सफल रहेको बताएका छन् । उनले भेटपछि पत्रकाहरूसँग भने– ‘हामी अमेरिका, युक्रेन र रुसबीच त्रिपक्षीय बैठक गर्ने प्रयासमा छौं । रुसले पनि सुरक्षा ग्यारेन्टी स्वीकार गर्ने संकेत गरेको छ। हामीले अब के गर्ने भन्नेबारे विचार गर्नुपर्छ।’
जेलेन्स्कीसँगको वार्ता सक्किएलगत्तै अमेरिकी राष्ट्रपति ट्रम्पले युरोपेली नेताहरूसँग वार्ता अघि बढाएका छन् । नेताहरू ठूलो गोलमेच वरिपरि बसेर आ–आफ्नो धारणा राखेका छन् । अन्तराष्ट्रिय सञ्चारमाध्यम रोयटर्सका अनुसार बैठकमा सहभागी सबै नेताले युद्ध रोक्नुपर्नेमा जोड दिएका छन्।











