
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने तयारी गरेका छन् ।
कांग्रेस, एमालेका सांसदहरुले मगरविरुद्ध पदीय आचारण अनुसारको व्यवहार नगरेको भन्दै संघीय संसद सचिवालयमा आज प्रस्ताव दर्ता गर्ने तयारी गरेका हुन् । त्यसका लागि उनीहरुले आफ्ना सांसदहरुबाट हस्ताक्षर समेत संकलन गरेका छन् । तर, सत्तारुढ दलसँग उपसभामुखलाई हटाउन दुई तिहाइ अथात् आवश्यक मत पुग्दैन ।
२ सय ७५ सांसद रहेको प्रतिनिधिसभामा रुपन्देही– ३ का सांसद दीपक बोहराको निधनपछि सो स्थान रिक्त छ । यसले गर्दा तत्काल कायम सदस्य संख्या १७४ हुन्छ । ‘संविधानको धारा ९१ को उपधारा ७ बमोजिम निजले पद अनुकूल आचरण नगरेको भने प्रस्ताव प्रतिनिधिसभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुईतिहाइ बहुमतबाट पारित भएमा,’ भनिएको छ ।
तर, हाल नेपाली कांग्रेससँग ८८ मध्ये एक सांसद मोहनबहादुर बस्नेत भ्रष्टाचार मुद्धाका कारण निलम्बनमा छन् । उनीसँग संवैधानकि अधिकार नरहेपनि गणना भने गर्नु पर्नेछ ।
त्यस्तै एमालेका ७९ सांसदमध्ये टोपबहादुर रायमाझी निलम्बनमा छन् । सभामुख देवराज घिमिरे मतदान प्रक्रियामा सहभागी हुन पाउँदैनन् । तसर्थ, एमालेमा हाल ७७ सांसद मात्र उपलब्ध हुनेछन् ।
सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) का ७ र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ४ गरी जम्मा १ सय ७५ सांसद हुँदा अपुग संसद् संख्या ८ छ । प्रस्ताव पारित हुन १८३ जना सांसदको समर्थन अनिवार्य हुन्छ ।
तर, नेकपा एससँग सहयोग मागे तत्काल उक्त सङ्ख्या पुग्ने देखिन्छ । किनकि, हाल एससँग ९ सांसद छन् । पार्टी अध्यक्ष माधवकुमार नेपाल भ्रष्टाचार मुद्दामा परेपछि उनको सांसद पद निलम्बनमा छ ।
योबाहेक स्वतन्त्र सांसद अमरेशकुमार सिंह र प्रभु साहले साथ दिँदा पनि थप ६ सांसद आवश्यक पर्ने देखिन्छ । भर्खरै सरकारलाई दिएको समर्थन फिर्ता गरेको नागरिक उन्मुक्ति पार्टी (नाउपा)लाई फकाउँदा पनि अझै २ सांसद नपुग्ने देखिन्छ । किनकि, नाउपासँग ४ सांसद मात्रै छन् ।
अब सत्तारुढ दलहरूले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाललाई फकाएर उसका ५ सांसदको समर्थन लिने सम्भावना छ । तर, यादवमाथि १८ वर्षपछि गौर हत्याकाण्डको अनुसन्धान अघि बढाउने गरी सर्वोच्चले गृह मन्त्रालय र प्रहरीलाई आदेश दिएको प्रकरणले सरकारसँग यादवको सम्बन्ध चिसिएको छ ।














