
काठमाडौं । झापामा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी एक महिलाको मृत्यु भएको छ । दमक नगरपालिका–१ भानु चोक निवासी मनोज साहकी श्रीमती ३० वर्षीया शोभाको आज बिहान मृत्यु भएको हो ।
प्रहरी नायब उपरीक्षक रामप्रसाद तिम्सिनाका अनुसार शोभाले घरमा एक्लै भएका बेला सोमबार दिउँसो पेट्रोल छर्केर आफ्नो शरीरमा आगो लगाएकी थिइन् ।
त्यसपछि उद्धार गरेर दमक अस्पतालमा सामान्य उपचारपश्चात् धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । त्यहाँ उपचार सम्भव नहुने जानकारी पाएपछि पुनः बिर्तामोडस्थित विएण्डसी अस्पतालमा लैजाने क्रममा आज बिहान मृत्यु भएको हो ।
श्रीमान्सँग मनमुटाव भएपछि शोभाले आत्मदाहको प्रयास गरेको आशङ्का प्रहरीको छ । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको झापा प्रहरीले जनाएको छ ।














