काठमाडौँ । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाविरुद्ध महाअभियोग लगाउने तयारीप्रति कांग्रेसमा शेखर कोइराला पक्ष असन्तुष्ट देखिएको छ ।

यस विषयमा कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार बिहान बुढानीलकण्ठमा बोलाइएको बैठकमा कोइराला सहभागी भएनन् । संसदीय दलमा सांसदहरुलाई बोलाएर हस्ताक्षर संकलन गरिएकामा कोइराला पक्ष सांसदहरु उपस्थित भएका छैनन् ।
नेपाली कांग्रेसले पदाधिकारी बैठक सभापति निवास बुढानीलकण्ठमा बोलाएको थियो । बैठक सकिएलगत्तै उसले आफ्ना सांसदहरुलाई सिंहदरबार बोलाएर हस्ताक्षर गरिरहेको छ ।
सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस र एमालेका नेताहरुबीच उपसभामुखविरुद्ध पदअनुसार आचरण नगरेको भन्दै हटाउने समझदारी जुटेको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखकलगायतका नेताको सहभागिता थियो ।














