
काठमाडौं । उपसभामुख इन्दिरा राना मगरलाई हटाउने तयारीपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदमा झन् आक्रामक देखिएको छ ।
आज बसेको प्रतिनिधिसभा बैठकमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले उपसभामुख हटाउन खोज्नु लोकतन्त्रमाथिकै गम्भीर खतरा भएको भन्दै आक्रोश पोखे । सत्ता पक्षले उपसभामुख पदको अवमूल्यन गरेको आरोप लगाउँदै सांसद परियारले जति उफ्रेपनि कांग्रेस–एमाले सांसद उनको ठाउँमा नपुग्ने भन्दै कटाक्ष गरे ।
‘हिजो बालुवाटार र सिहंदबरामा जुन प्रहसन भयो । यसले सदनलाई चोट पुर्याएको छ । सार्वभौम सांसदको जिम्मेवार पद उपसभामुखलाई जुन तहको अवमूल्यन भएको छ, यो लोकतन्त्रका लागि ठूलो अपमान हो’, उनले भने, ‘एउटा जनजाति महिला, रास्वपाले उहाँलाई सम्मान गर्दै, उहाँले अन्तर्राष्टिय स्तरमा पाउनुभएको सम्मानलाई सम्मान गर्दै यो सभामा भित्र्याएको हो। अन्तर्राष्ट्रिय स्तरमा उहाँले जुनसम्मान पाउनुभएको छ, त्यत्ति तपाईँहरू जति उफ्रे पनि पुग्नुहुन्न।’
साथै उनले सांसदको विवेकलाई हस्ताक्षरमा परिणत गरेर आफूले चाहेको बेला राजनीतिक स्वार्थ पूर्तिका लागि प्रयोग गरिएकोमा पनि उनले आपत्ति जनाए । ‘सांसदको विवेकलाई बन्दी नबनाऔँ। सांसदको विवेकलाई हस्ताक्षरमा परिणत गरेर जुन बेला पायो त्यही बेला राजनीतिक स्वार्थ पूर्ति गर्ने मुद्दा नबनाऔं,’ उनले भने ।
साथै उनले राष्ट्रिय स्वतन्त्र पार्टीलाई निषेध गर्न खोजिएको आरोप लगाए । ‘आज रास्वपालाई निषेध गर्न खोजिँदैछ, नयाँहरूलाई निषेध गर्न सकिँदैन, समाज विज्ञानले प्रमाणित गरेको कुरा हो, कुनै पनि नयाँहरूलाई समाजले निषेध गर्न सक्दैन,’ उनले भने, ‘हो हामीलाई कमजोर बनाउन खोजिएला तर हामीलाई निषेध गर्न यो समाजले सक्दैन, यो नयाँ युगले सक्दैन भन्ने हाम्रो ठम्माइ हो ।’














