काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रास्वपा सभापति रवि लामछिाने भैरहवा कारागारमा हुँदा निकै पीडामा परेको र दुब्लाएको बताएका छन् । बुधबार लामिछानेलाई नख्खु कारागार पुगेर भेट्ने क्रममा उनले रविको अनुहारनै कमजोर देखिएको बताए ।

रविलाई भेटेर फर्कने क्रममा सञ्चारकर्मीसँग उनले भने, ‘भरखरै रवि लामिछानेसँग भेट गरेँ, मेरो क्याबिनेटमा गृहमन्त्री पनि हो उहाँ, अभिभावकको हिसाबले उहाँको अवस्था बुझ्नु स्वाभाविक नै हो। भैरहवा हुँदा नै जान खोजेको, मिलेन। उहाँको भैरहवाको बसाइँको स्थिति जटिल नै रहेछ। दुब्लाउनुभएछ। यहाँ बसाइँ राम्रो भएको, खानपिन पनि राम्रो भएको भन्नुभयो। भैरहवाको तुलनामा धेरै राम्रो छ भनेर यहाँको व्यवस्थापनको प्रशंसा गर्नुभयो।’
उनले गठबन्धन आफूप्रति अनुदार भएको गुनासो गरेको बताए । बिगो बुझाएर मुद्दा लड्न पाउने कुरालाई सबैले विचार गर्नुपर्ने बताए । उनले भने, ‘उहाँमाथिको विभेद कम होस्, उहाँलाई सहज वातावरण बनोस् भन्ने कुरा हो । तर मैले उहाँलाई राजनीतिक रूपमा कांग्रेस एमालेको आफूलाई गरेको व्यवहारले पार्टीलाई राम्रो फाइदा भएको बुझ्नुभएको रहेछ ।’
लामिछानेले आफू र आफ्नो पार्टीप्रति सत्तारुढ दलहरूले गरेको प्रतिशोधका कारण आफैंलाई फाइदा पुगेको निष्कर्ष सुनाएका थिए ।
प्रचण्डका अनुसार, दुई दलले रास्वपालाई गरेको व्यवहारका कारण आगामी चुनावमा बल पुग्नेगरी फाइदा भएको विषयबारे लामिछाने जानकार छन् ।
‘राजनीतिक रुपले अहिले कांग्रेस–एमालेले उहाँमाथि जसरी व्यवहार गरेको देखिएको छ । त्यसले उहाँ र उहाँको पार्टीलाई देशभरि फाइदा भएको छ भन्ने कुरा उहाँले राम्रो बुझ्नुभएको रहेछ,’ प्रचण्डले भने, ‘कांग्रेस एमालेले आफ्नै खुट्टामा बन्चरो हान्ने काम किन गरेका होलान् ?’
रविले प्रचण्डसँग नख्खु कारागार प्रशासनबारे प्रशंसा पनि गरेका छन् ।














