काठमाडौं । रुसका परराष्ट्रमन्त्री सर्गेई लाव्रोभले युक्रेनसँग सम्बन्धित सुरक्षा ग्यारेन्टी वार्तामा रुसलाई समावेश गर्नुपर्ने बताएका छन् । उनले रुसको सहभागिता बिना युक्रेनको सुरक्षा सुनिश्चिततासम्बन्धी प्रश्नहरू समाधान गर्ने कुनै पनि प्रस्ताव स्वीकार्य नहुने स्पष्ट पारे ।

‘रुसलाई बाहिर राखेर युक्रेनको सुरक्षा सुनिश्चिततासम्बन्धी विषयहरू समाधान गर्ने प्रयास सफल हुँदैन,’ लाव्रोभले भने, ‘यस्ता छलफलले कुनै नतिजा दिँदैन ।’ उनले रुसको अनुपस्थितिमा हुने बैठकहरूलाई ‘भ्रम’ को संज्ञा दिँदै यस्ता प्रयासले सार्थक परिणाम नदिने बताए ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच सम्भावित भेटलाई लिएर लाव्रोभले यस्ता सम्मेलनहरू ‘अत्यन्त सावधानीपूर्वक’ तयार गर्नुपर्नेमा जोड दिए। ‘यस्ता बैठकहरूले समस्यालाई थप जटिल बनाउने जोखिम कम गर्न सावधानी आवश्यक छ,’ उनले भने ।











