
टोकियोलाई बाइबाई गरी कोबे जाने सुपर एक्सप्रेस बुलेट ट्रेन चढेकी थिएँ । मलाई त्यहाँसम्म पु¥याउने असल मित्र सुसुमुसँग त राम्रोसँग हात हल्लाउनै पनि भ्याएको थिएन । ट्रेन अगाडि बढिहाल्यो । मनभरी सुसुमुले बिहान सबेरैदेखि माया गरि पकाएको भातको याद पनि आइरह्यो । उनले मलाई “भात खाएपछि खाली बट्टा फ्याँक्नु है !’’ भनेको कुराले मनमनै हाँसो उठेपनि उनको अभिभावकत्वलाई सम्झाइ रह्यो ।
नेपालमा भए भात पकाउने जिम्मा महिलाहरूकै मात्र हुन्थ्यो । कति पुरुषलाई कसरी भात पाक्छ भन्नेसम्म पनि थाहा हुँदैनथ्यो । हुन त जापान पनि पुरुष प्रधान समाज नै हो । घरघरमा खाना पकाउने जिम्मा महिलाकै हुन्छ । सुसुमु साथी भए पनि अविवाहित एक्लो पुरुष– उनले पकाएको खानाको महत्व नै बेग्लै थियो मेरो निम्ति । त्यो खानामा मित्रताको मीठो स्वाद पनि मिसिएको हुन्थ्यो । तर मायाले पकाएको त्यो खाना मैले खानै पाइन । त्यसको सट्टामा उनले नै किनेर दिएको केक खाएँ ।
टोकियोलाई त मैले सोचेभन्दा धेरै ठाउँमा घुमेर हेरेँ । त्यो बेला हेरेको देखेको घुमेको दृश्यहरूले जीवनमा ठुलै प्रभाव पारेको पनि छ । सबै साथीहरूको माया पाएर म अलिअलि फुर्केको बच्चाजस्तो पनि हुन पाएँ । निष्काम माया भनेको त्यही त होला ! कृतज्ञ हुनुबाहेक ती मित्रहरूको निम्ति मैले केही गर्न सकेको छैन ।
एकजना भर्खरकी युवती साथीले कसैको प्रेम प्रस्ताव आउँदा मसँग सल्लाह लिएकी थिइन– “प्रेम भनेको के हो ?’’ भनेर प्रश्न पनि गरेकी थिइन् । त्यो बेला मलाई यसको उत्तर दिन गाह्रो भएको थियो । साँच्चै भन्ने हो प्रेमलाई यस्तै हो भनेर व्याख्या–विश्लेषण गर्नै मिल्दैन । यो विशुध्द भावनाको कुरा हो । प्रेममा इमान्दारी भएन भने आकर्षण मात्रमा टुङ्गिन्छ । शरीरको मात्र होइन भित्री अन्तर मनको सम्बन्ध हो प्रेम ! त्यो प्रेम असीम हुन्छ, केवल केटा र केटीको प्रणयमा सीमित हुँदैन प्रेम । प्रेमको आँखाले विश्व–ब्रह्माण्डलाई देख्न सके मान्छेले कहिल्यै नकाम गर्दैन ।
मनभरी साथीहरूको प्रेम बोकेर गुडिरहेकी थिएँ एक्लै । कोबेको स्टेशनमा पुगेपछि ओर्लिएँ । आँखा डुलाउन पनि भ्याएको थिइनँ, दुईजना असल साथीहरू अगाडि देखापरिहाले । मलाई लिन आएका रहेछन्– इशिजुका र आशाही ।
भेट्नासाथ अंगालोमा बाँधियौँ । उनीहरूले नै मेरो गह्रौँ सुट्केश गुडाएर गाडीसम्म पु¥याए ।
दुवै साथीहरू व्यस्त थिए आ–आफ्नो काममा । आशाही अलि टाढैबाट आउनुपर्ने थियो । अफिसमा काम गर्दै बिचमा केही समय निकालेर आएकी थिइन् । उनी मलाई इशिजुकाको गाडीमा छोडेर पछि फेरि भेट्ने बाचा गर्दै अर्को बस चढिन् । इशुजुकाको अपार्टमेन्टतिर हामी चढेको गाडी गुड्यो । योजनाअनुसार अब केही दिन म उनीसंगै बस्नु थियो । उनको अपार्टमेन्ट पुगेपछि फेरि अर्को संसारमा प्रवेश गरेझैं भयो । यसअघि कहिल्यै अपार्टमेन्टमा बसेकी थिइनँ् ।
अपार्टमेन्ट ठूलो थियो । सबै कुराले सम्पन्न थियो । बरु मान्छेकै अभाव देखेँ । त्यति ठुलो अपार्टमेन्टमा दुईजना दिदीबहिनी मात्र बस्दा रहेछन् । इशिजुकाकी दिदी सरकारी अफिसमा काम गर्थिन् । चीनमा पाँच वर्ष होस्टेलको एउटै कोठामा तीनजना बस्ने गथ्र्यौँ हामी– यहाँ अविवाहित दुई दिदीबहिनी मात्र त्यति ठुलो ठाउँमा बसेको देखेर लोभ पनि लाग्यो । । बाहिर ज्यादै सुन्दर साझा बगैंचा थियो ।
पुग्नासाथ फेरि खुवाउने बन्दोबस्त गरिन् । दिदी अझै अफिसमै थिइन् । त्यही बेला सुसुमुको फोन आयो- मेरो खबर बुझ्न । इशुजुकाले भनिन् “यो तेस्रो फोन हो सुसुमुको ! तिम्रो धेरै वास्ता राख्दा रहेछन् ।’’
म राम्रोसँग पुगेको खबर सुनेपछि सायद उनको मनले पनि आराम पायो होला ! त्यसपछि मैले नै सुनाएँ-उनले बिहानैदेखि उठेर मायाले पकाएको भातको बट्टा घरमै छुटेको कुरा । अनि हामी दुबै मरिमरि हाँस्यौं । यसरी रमाइलोसँग सुरु भए कोबेका दिनहरू ।
साँझ अँध्यारो भएपछि बल्ल दिदी अफिसबाट फर्किन् । मेरो परिचय गराइ दिइन् बहिनीले । दिदी पनि नम्र खालकी रहिछन् । मेरो लेखहरू कहिले कहिले पढ्ने गरेको सुनाइन् र मलाई स्वागतको आँखाले हेरिन् र “यहाँ बसुन्जेल ढुक्कसँग आफ्नै घर ठानेर बस्नु’’ भनिन् । राम्रो लाग्यो !
बेलुकी फेरि निशिकावाको फोन आयो । इशिजुकाले जापानी भाषामै उनीसँग लामै कुराकानी गरिन् । म त्यहाँ बसुञ्जेल सम्मको योजनाबारे छलफल भएको होला । कति वास्ता र माया साथीहरूको ! मैले मनमनै प्रार्थना गरिरहेँ– “तिमीहरूको ऋण कुनैबेला तिर्न सकूँ !’’
कोबे पुगेपछि नेपालमा नयाँ अस्पताल खोल्नको निम्ति सहयोग गर्ने मान्छेसँग भेटेर कुराकानी गर्नु भनेका थिए सरोजले । तर, उनको सम्पर्क भने पठाइसकेका थिएनन् । सरोज काठमाडौंबाट केहीदिन अघि नै शाङ्हाई फर्किसकेका थिए । जापानीहरूको काम गर्ने तरिका र हामी नेपालीहरूको काम गर्ने तरिकाबारे तुलना गरेँ– कति फरक ! आफ्नै मान्छेसँग पनि अलिकति रीस उठ्यो, बेलामा सम्पर्क नम्बर नपठाएकोमा ।
हुन त चिठीमा लेखिसकेका रहेछन् उनको ठेगाना । चिठी मेरो हातमा पुगिनसकेको मात्र रहेछ । मैले साथीसँग सबै कुरा भनें । उनले कुरा बुझेर यहीँबाट सरोजलाई फोन गर्नु न त भनिन् । मैले फोन गरेँ । सरोजले फेरि फोनबाट नै टिपाए कुन ठाउँमा कसरी भेट्ने भनेर ।
हाम्रो पुरानो साथी सुमन श्रेष्ठको माध्यमबाट नेपाल जाँदा भेट भएको रहेछ- कुराउची शिरोसँग । नेपाल भनेपछि भुतुक्कै हुने उनी सुमनबाट निकै प्रभावित भएका रहेछन् र उनीहरूबीच घनिष्ट सम्बन्ध रहेछ ।
कोबे नजिकैको धनीमानी बस्ने ठाउँ-ताकाराजुकामा घर रहेछ उनको । नेपालमा एकदमै छोटो समय मात्र सरोजसँग भेट भएपनि उनी प्रभावित भएछन् र अस्पताल निर्माणको निम्ति सक्दो सहयोग गर्न तयार भएछन् ।
आखिर उनै कुराउचीको सहयोगले काठमाडौँ मोडेल अस्पतालको जग बसाउन मद्दत ग¥यो । इशिजुकालाई पनि नयाँ अस्पताल बनाउने सपनाबारे सुनाएँ । अन्य जापानी साथीहरूबाट के कस्ता सहयोग मिल्न सक्लान् भन्नेबारे पनि बेलुकी छलफल भयो ।
इशिजुका चिनियाँ भाषाको प्रमाणपत्र प्राप्त दोभाषे भइसकेकी थिइन् । यस्ता औपचारिक दोभाषेहरूको राम्रै इज्जत हुँदोरहेछ जापानमा । उनको सम्पर्क सञ्जाल पनि निकै फराकिलो रहेछ भन्ने कुरा पनि थाहा पाएँ । उनका योजना सुविचारित हुन्थे र कार्यशैली सुसंगठित । पक्का जापानी थिइन् उनी । त्यहाँ बसुञ्जेल गर्न सकिने कामहरूबारे एउटा चार्ट नै बनाइ दिइन् मेरो निम्ति । कुन दिन कहाँ जाने, के हेर्ने, के काम गर्ने, को कोसँग भेट्ने, कहाँ भेट्ने ? स्पष्ट योजना बन्यो …।











