काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूलाई बीमालेखको सुरक्षणमा दिइएका कर्जा सम्बन्धी सबै जानकारी बीमितलाई समयमै स्पष्ट रूपमा उपलब्ध गराउन निर्देशन दिएको छ।

प्राधिकरणका अनुसार, बीमा कम्पनीहरूले बीमालेख सुरक्षणमा प्रदान गरिएका कर्जा असुलीका क्रममा बाँकी रहेको कर्जा रकम, ब्याज गणना विधि, भुक्तानी समय–तालिका र भुक्तानी नगरेको खण्डमा लाग्ने परिणामबारे पर्याप्त जानकारी नदिँदा बीमित तथा हिताधिकारीहरू समस्यामा पर्न सक्ने गुनासो बढ्दै आएको छ।
निर्देशन अनुसार, बीमा कम्पनीहरूले बीमालेख सुरक्षणमा कर्जा प्रदान गर्दा कर्जा रकम, ब्याज गणना विधि, भुक्तानी समय–तालिका र भुक्तानी नगरेमा हुने नतिजा बीमितलाई कम्तीमा ३० दिन अघि एसएमएस, इमेल वा पत्रमार्फत जानकारी गराउनुपर्नेछ।
प्राधिकरणले दिएको निर्देशनमा भनिएको छ, ‘बीमा कम्पनीहरूले बीमालेख सुरक्षणमा बीमितलाई कर्जा दिँदा कर्जा रकम, ब्याज गणना विधि, कर्जा भुक्तानी गर्नुपर्ने समय–तालिका र भुक्तानी नगर्दा हुने परिणामका बारेमा कर्जाको ब्याज भुक्तानी गर्ने अवधि समाप्त हुनुभन्दा कम्तीमा ३० दिन अगावै बीमितले स्पष्ट बुझ्ने गरी एसएमएस वा इमेल वा पत्रमार्फत अनिवार्य जानकारी गराउने व्यवस्था गर्न÷गराउन परिपत्र गरिएको छ ।’
प्राधिकरणले बीमा कम्पनीहरूले ऋण तथा व्याज असुलीका लागि स्मरणपत्र वा जानकारी दिई वीमितको ध्यानाकर्षण गर्नु उनीहरूको कर्तव्य भएको समेत स्मरण गराएको छ ।











