Logo
Logo

मलाई फसाउँन खोजियो-रेखा फागो, अभिनेत्री


- दृष्टि न्युज/संवाददाता


फिल्म तथा ग्ल्यामरस क्षेत्रकी ‘राईजिङ स्टार’ हुन्, मोडल तथा अभिनेत्री रेखा फागो लिम्बू । रेखाका लागि करिअरको उताव–चढाव बेहोर्ने अवस्था पनि यही हो । रेखा भन्छिन्, ‘करिअरका लागि जस्तोसुकै संघर्ष र मिहिनेत गर्न तयार छु ।’ मिहिनेतकै कारण ‘राइजिङ स्टार’ का रुपमा आफूलाई चिनाउन सफल भएकी छन् । तर, करिअरमा कतिबेला बज्रपात आइलाग्छ भन्ने थाहै हुन्न । फिल्ममा भन्दा भिडियोमा व्यस्त रेखाका लागि कोरोना संक्रमणका कारण जारी ‘लकडाउन’कै बेला यस्तो एउटा बज्रपात आइलाग्यो, जुन ‘नखाएको विष’ उनीमाथि लाग्यो । डेढ महिनाअघि आफूसँग मिल्दोजुल्दो एक अश्लील भिडियो क्लिप उनीले साथीमार्फत हात पारिन् । त्यो भिडियो देख्ने र हेर्नेले ‘रेखाकै हो’ भन्नेसम्म पुगे । तर, गल्ती नगरेकाले रेखा ढुक्क थिइन् । फिल्म ‘तारेभीर’बाट अभिनेत्रीमा डेब्यू गरेकी रेखाले अन्ततः ढेड महिनापछि उक्त भिडियोबारे विज्ञप्ति निकाल्न बाध्य भइन् । साथीभाई र आफन्तबाट टर्चर आउन थालेपछि रेखाले भनिन्, ‘नखाएको विष लाग्दा तनाव हुँदोरहेछ ।’ ‘भिडियोको मान्छे म होइन, मंगोलियन फेस भएकाले कता–कता अनुहार मिल्यो होला । तर, त्यो व्यक्ति म होइन’ विज्ञप्तिमार्फत रेखाले स्पष्टिकरण दिएकी छन् । उक्त भिडियोबारे साइबर क्राइम ब्यूरो टेकुले अनुसन्धान गरिरहेको छ । अभिनेत्री तथा बुटिक व्यवसायीसमेत रहेकी रेखा फागोसँग दृष्टिको जम्काभेट :

‘लकडाउन’को समय कसरी बित्दैछ ?

लकडाउनले खासै प्रभाव परेको छैन । बुटिकको काम भइरहेको छ । सहज अवस्थामा जस्तो नभएपनि अनलाइन अर्डरका कामहरु चलिरहेको छ । नेपालमा चाहिँ व्यापार ठप्प छ । कोरोनाका कारण फिल्म र म्युजिक भिडियोको काम पनि भएको छैन ।

‘लकडाउन’मा कसरी काम चलिरहेको छ त ?

विदेशबाट अनलाइनमा अर्डर आउँछ । ती अर्डरहरु बुटिकमै स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर काम गर्दै आएकी छु । कुरिअरमार्फत विदेशमा सामान पठाउने गरेको छु ।

एउटा अश्लील भिडियो क्लिप्स तपाइँको नाम जोडिएर आयो । खाश कुरो के हो ?

त्यो फेक भिडियो हो । ढेड महिनाअघिको कुरा हो । म राति यु–ट्युबमा फिल्म हेर्दै थिएँ । त्यतिखेरै एकजना ‘अननाउन’ व्यक्तिले कल गरेर तिम्रो यस्तो (अश्लील) भिडियो आएको रहेछ भनेर सुनायो । तर, म कन्र्फम थिएँ, त्यो मेरो होइन, किनकि मैले त्यस्तो गल्ती गरेकी छैन । सुरुमा हाँस पनि उठ्यो । हाँसेरै उडाएँ । त्योभन्दा अगाडि कोहीबाट सुनेकी थिइनँ ।

त्यो भिडियो कहिले हात पार्नुभयो ?

त्यसकै भोलिपल्ट सुरुमा कल गर्ने व्यक्तिबाटै हात लाग्यो । त्यो पनि हो कि होइन भन्ने लाग्दैथियो । तर, मेरो नाम जोडेर आएकाले कसैले फसाउन खोजेको हो कि भनेर भिडियो मगाएँ । भिडियो हात लागेपछि हेर्दा कुनै कोणबाट पनि आफूसँग मिल्दो लागेन ।

केही मिल्दैन भने कसरी तपाइँ नै भनेर शंका गरियो ?

मलाई पनि आश्चार्य लागेको छ । अब मंगोलियन फेसहरु प्रायः मिल्छ । हामी नेपाली मंगोलिनहरुको कोरियन, जापानीजहरुसँग फेसन मिल्छ । तर, त्यो भिडियोमा मसँग कतै मिल्दैन । फाट्टफुट्ट एक दुुईपटक मसँग भेटेकाहरुले मजस्तै छ भनेर शंका गरे । तर, सधै सम्पर्कमा रहेकाहरुले हेर्दा थाहा हुन्छ कि त्यो म होइन ।

त्यो भिडियो फेक कसले बनायो होला, कुनै शंका छ ?

मेरो अहिलेसम्म कसैसँग दुश्मनी छैन । म सबैसँग नजिक छु । त्यस्तो नचाहिँदो काम गर्दै हिँड्ने केटी पनि होइन । मलाई लाग्छ, मलाई फसाउने काम मेरै नजिकका आफन्तबाटै भयो कि भन्ने आशंका छ । मैले साइबर क्राइम ब्युरोमा पनि उजुरी दिएकी छु । अहिले अनुसन्धान भइरहेको छ । मलाई लाग्छ, त्यो कुकार्य गर्ने व्यक्ति एकदिन कानुनी कठघरामा आउने छ ।

ढेड महिनाअघि फेक भिडियो आयो, तर विज्ञप्ति अहिले किन ?

मेरो गल्ती थिएन । त्यसैले ढुक्क बसेँ । तर, मान्छेहरुले उनकै भिडियो रहेछ, त्यही भएर चुप लागेर बस्यो भन्ने हिसाबले टर्चर दिन थाले । सबैलाई म होइन भनेर स्पष्टिकरण दिन सम्भव नभएर विज्ञप्ति निकालेकी हुँ ।

‘नखाएको विष’ले आफ्नो करिअरमा असर पुग्यो जस्तो लागेको छैन ?

मलाई लागेको छैन किनकि, मेरो गल्ती छैन भने किन आत्तिनु ? गर्दै नगरेको आरोप लाग्दा मानसिकरुपमा केही तनाव त हुन्छ नै । यो मानवीय स्वभाव नै हो । तर, त्यो भिडियो प्रकरणपछि अझ केही गरेर देखाउने जाँगर र जोश आएको छ । मेरो सफलता देख्न नचाहनेहरुबाट यस्तो कार्य भएको हुनसक्छ । त्यसैले आगामी दिनमा अझ मिहिनेत गरेर अगाडि बढ्नेछु । यो मेरो जीवनको एउटा पाठ हो ।

फिल्मतिरको काम के हुँुदैछ ?

कोरोनाका कारण फिल्मको काम स्थगित छ । रिलिजको तयारीमा रहेको ‘जारी’ फिल्म पनि स्थगित भएको छ । अर्को मेरो फिल्म ‘हृदय भरी’ पनि प्रदर्शनको तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस्