
नेपालका गाउँमा २० वर्षभन्दा बढी समय डाक्टर भएर सेवा गर्दै हिँडेका डा. इवामुरालाई भेट्ने बित्तिकै नै म ज्यादै प्रभावित भएँ । त्यो बेला ६५ वर्षका उनी मेरा निम्ति “ज्येष्ठ नागरिक’’ भइसकेका थिए– सेतो दारी भएको शान्त मुर्तिमा कुनै सिद्ध पुरुषजस्ता देखिन्थे ।
कोबे पुगेको भोलिपल्ट नै उनीसँग भेट्ने समय र ठाउँ निश्चित भइसकेको थियो । सुसुमुले टोकियोबाटै फोनमा कुरा गरेर सबै मिलाइसकेका थिए । उनीसँग भेट्ने सल्लाह भने नेपाल विज्ञ प्रोफेसर हिरोशी इशीले दिएका थिए ।
डा. इवामुरा मेडिकल डाक्टर मात्र थिएनन्, नेपालमा लामो समय बसिसकेका, धेरै अनुभव बटुलेका पाका नेपालविज्ञ पनि थिए । नयाँ अस्पतालकै सन्दर्भमा पनि उनीसँगको भेट महत्वपूर्ण थियो ।
नेपाली डाक्टरहरू नै हत्पती जान नचाहने दूरदराजका गाउँमा गएर, स्वास्थ्य चौकीहरूमा मात्र होइन, गुन्द्रीमै बसेर काम गरेका यी डाक्टरको योगदान, समर्पण र उनमा भएको करुणा र प्रेम कुरागर्दै गएपछि झन् झन् देख्दै गएँ । झन् झन् मन पर्न थाल्यो उनका कुराहरू ।
देशको परिवर्तनको निम्ति भनेर गाउँघर डुल्ने काम आफूले पनि नगरेको होइन । तर उनीजस्तो डाक्टर भएर होइन । त्यही बेला सम्झेँ– सरोज त डाक्टर भइकन पनि सेतो कोटलाई डेराको भित्तामा झुण्ड्याएर साधारण भेषमा भूमिगत भएका थिए । राजनैतिक कार्यकर्ता भएर गाउँ पसेका थिए । र त्यो भूमिकामा पनि परिआएका बेला रोगीको सेवा गरेका थिए ।
म आफै नै गर्भवती भएका बेला बरु अरु डाक्टर खोज्नु परेको थियो । उनी भने नरदेवीको गल्लीको एउटा सानो डेरामा मलाई एक्लै छोडेर देशको निम्ति भनेर हिँडेका थिए । ठुलै छाती बोकेर गाउँ जाने जीवनसाथीलाई गर्वले नै विदाई गरेकी थिएँ ।
त्यो सम्झनाले डा. इवामुरा प्रति झनै आदर भाव बढ्यो । उनी त एउटा सम्पन्न देशका योग्य डाक्टर ! तर गरिब नेपालका झनै गरिब गाउँहरूमा स्वास्थ्य सेवा गर्दै दशकौं बिताएका थिए । मैले हृदयदेखि नै सलाम गरेँ । उनीसँग कुरा गर्ने क्रममा बेला बेलामा म भावुक भएँ, कतिचोटी आँखाबाट सलल आँसु पनि बग्यो । पहिले त आफुलाई अलि बलियै सम्झन्थेँ, त्यतिबेला के भयो कुन्नी, आफूलाई सम्हाल्न पनि सकिनँ । त्यतिबेला म अझै एक युवा आमा थिएँ ।
उनले गरेको नेपालको वर्णन अनि आफू पनि त्यही देशको एक स्वप्नदर्शी नागरिक हुनुले पनि धेरै छोयो मेरो मन । गाउँघरको अवस्थाबाट परिचित भावुक मन, शहरमै जन्मेको भए पनि शहर छोडेर गाउँमा जाने आफ्नो अपूर्ण इच्छा अनि ती महापुरुषजस्ता लाग्ने जापानी डाक्टरले तिनै गाउँमा गएर गरेको सेवाको कुरा सुन्दा मेरो मन झन् झन् संवेदनशील हुँदै गएको हुन सक्छ । केले हो केले मन दुखाइरहेको थियो ।
नेपालमा नयाँ दर्शन अँगालेको अस्पताल खोल्ने सरोजको इच्छा नेपालमा साथीहरूलाई भेटेर कुराकानी गरेपछि बलियो भएको थियो । यसैबारे कुराकानी गरिरहँदा ती डाक्टरले भने– “गाउँघरमा अस्पतालहरूको खाँचो छ, शहरमा भन्दा बढि !’’ र त्यो कुरा सत्य थियो ।
इवामुरासँग कुराकानीको क्रममा मैले कुरा बुझ्दै गएँ– उनी स्वयंबाट नेपालको कुनै सहरमा बन्न लागेको नयाँ अस्पतालको निम्ति भौतिक सहयोग पाउन सम्भव छैन भन्ने कुरा । एक त नेपाललाई सहयोग गर्दा गर्दै आफै नै ऋणमा डुबेर चुर्लुम्म भइसकेका थिए ।
अर्को कुरा– शहरमा अस्पताल बनाउनुको कुनै अर्थ छैन भन्ने उनको स्पष्ट राय थियो । नेपालका गाउँहरूमा सेवा गर्ने भनेर बैंकहरूबाट लिएको ऋण तिर्न नसकेर थकित र दिक्क भएको आभास हुन्थ्यो उनीसँगको कुराकानीमा ।
आफ्नो काम बालुवामा पानी खन्याएजस्तो पो भयो कि भनेजस्तो लाग्न थालेको पो थियो कि ! नेपाली भाषा राम्रै बोल्न सक्ने डाक्टर बेलाबेलामा नेपाली उखान टुक्का पनि प्रयोग गर्थे कुराकानीमा । मलाई अलिकति पनि कुनै विदेशीसँग कुरा गरिरहेको महसुस भएन । कुनै नजिकको दुःख, सुख बुझ्ने आफन्तसँग कुरा गर्दैछु जस्तो लागिरहेको थियो ।
उनैले लन्च खुवाए । त्यसै पनि नेपाली भाषामा नेपालकै बारे कुरा गर्ने प्यासै लागेजस्तो भइरहेको थियो मलाई– र उनी नेपालीमै बोलिरहेका थिए । कुनै दोभाषे साथीहरूको मद्दत पनि नचाहिने देखेपछि मलाई त्यहाँ पु¥याएर इशिजुका भने फर्किसकेकी थिइन् ।
कुरा गर्दागर्दै उनले आफ्ना व्यक्तिगत कुरा पनि खोल्दै गए । त्यो बेला नै ९० वर्ष भइसकेकी आमालाई हेरविचार गर्नुपर्ने भएर पनि जापान फर्केर बसेका रहेछन् । आमालाई बिदा गरेपछि फेरि नेपालमै बसेर काम गर्ने विचार अझै पनि नछोडेको सुन्दा मेरो अगाडि बसिरहेका ती डाक्टर झन् महान लागे । सिंगै नेपालले सम्मान गर्नु पर्ने, चिन्नु पर्ने, कृतज्ञता व्यक्त गर्नुपर्ने एक घनिष्ठ मित्र थिए उनी ।
नेपालमा उनका १०जना धर्म पुत्रपुत्री भएको कुरा पनि उनको आफ्नै मुखबाट सुनें । सबैलाई माया र सहयोग गर्दारहेछन् । । ती १०जना मध्यमा त्यतिबेला कसैलाई पनि म चिन्दिनथिएँ । फर्केपछि पुतलीसडकमा एउटा प्राइभेट हस्पिटलमा बसेकी उनकी एउटी छोरीसँग भने पछि परिचय भयो । त्यतिबेला डा. इवामुराको बारेमा मैले लेखेको एउटा लेख पढेर पूर्णिमा गुरुङले मलाई भेट्न खोजेकी रहिछन् ।
अहिले त भक्तपुरमा डा. इवामुराको नाममै एउटा अस्पताल पनि छ । तर डाक्टर इवामुराले भने यो पृथ्वीबाट बिदा लिएर गइसकेका छन् । उनका असल कर्म जापानमा मात्र होइन नेपालमा पनि बाँचिरहेका छन् । उनको हातबाटै उपचार पाएका गरीब नेपालीहरूको हृदयमा उनको कति विशिष्ट स्थान होला !
कुराकानीकै क्रममा उनले केही बिर्सनै नसकिने कुरा पनि भनेका थिए । उनले भनेका थिए – “नेपालमा ‘प्रोफेसनल जेलसी’ चर्को हुनाले राम्रो काम गर्न सजिलो छैन ।’’ हामीले देख्दै नदेखेको वा अनुभव नगरेको कुरा थिएन यो । तर उनको मुखबाट त्यो विशिष्ट परिस्थितिमा यो कुरा सुन्दा पछिसम्म रहने गरि मनमा गाढा छाप परेछ ।
नेपालमा सरोजले चाहेको अस्पताल बन्यो एकदिन । काम गर्न थालेपछि बिस्तारै स्पष्ट हुँदै जान थाल्यो– डा. इवामुराको भनाइको मर्म । उनी आफै ऋणमा डुबेर पनि आफूले नजन्माएका १०जना छोराछोरीको हेरविचार गरिरहेका थिए । हामीलाई भने त्यो बेला आफैले जन्माएकी एउटी छोरीलाई पढाउन पनि हम्मे हम्मे भइरहेको थियो । हुन त समस्याहरूले नै मलाई लेख्न लगायो, जापानमा त्यसरी असल मान्छेहरूलाई भेट्न पनि लगायो । अहिले त टाढाबाट पुरानो फिल्म हेरे झैँ हेर्दै छु सबै कुरा …











