काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले भ्रष्टाचारले नेपाललाई खोक्रो बनाएको बताएका छन् । बिहीबार बुटवलमा सहिद बेपत्ता स्मृति प्रतिष्ठान नेपालले आयोजना गरेको अन्तरक्रियामा बोल्दै उनले त्रिभुवन विमानस्थलमा भिजिट भिसा प्रकरणमा दैनिक ५० लाख रुपैयाँ घुस लिइने गरेको उल्लेख गरे ।

विप्लवले कांग्रेस नेता रमेश लेखकमाथि आफ्नै कर्मचारीले दैनिक ५० लाख घुस लिएको आरोप लगाएकोमा निराशा व्यक्त गरे । उनले उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठको ‘न्यायालयमा पैसाबिना केही हुँदैन’ भन्ने अभिव्यक्तिले देशको अवस्था झल्काएको बताए ।
उनले वर्तमान सङ्कटको कारण दलाल पूँजीवादी संरचना र गणतन्त्रपछि नेतृत्वको स्पष्टता नहुनु रहेको उल्लेख गरे । विप्लवले गणतन्त्रको उपलब्धिलाई आत्मसात गर्दै नेतृत्वको पुनर्गठन आवश्यक रहेको बताए ।
उनले इमानदार कम्युनिष्ट पार्टीले नेतृत्व लिएर नेपाली समाजलाई अगाडि बढाउनुपर्ने आवश्यकता रहेको बताए । काठमाडौंबाट सुरु भएको बहसले देशभर तरङ्ग ल्याएको र बुटवलको छलफललाई पनि चासोका साथ हेरिएको उनले बताए । यो बहस नयाँ पार्टी गठनका लागि नभई मुलुकको आवश्यकताले सिर्जना भएको उनको भनाइ छ ।














