काठमाडौं । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेपालमा घुस नखाने, सुशासनको ग्यारेन्टी दिने क्रान्तिकारी कम्युनिस्ट पार्टीको आवश्यकता रहेको बताएका छन् ।

बिहीबार बुटवलमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपालका कम्युनिस्ट पार्टीहरू दलाल पुँजीवादको चङ्गुलमा फसेको र जनतामा निराशा छाएको बताए।भुसालले व्यवस्था र संविधान परिवर्तन भए पनि राजनीतिक दलहरूको ढाँचा र कार्यशैली पुरानै रहेको टिप्पणी गरे ।
उनले दलाल पुँजीवादले राजनीतिलाई कब्जामा लिएको र जनतामाथि अत्याचार भइरहेको दाबी गरे । ‘सत्ता, सरकार र नेताहरूको गुटले जनतालाई अपमानित गरेको छ। समाज बौलाएको छ, अब ध्रुवीकरण जरुरी छ,’ उनले भने । वामपन्थी आन्दोलनलाई एकजुट बनाउनुपर्नेमा जोड दिँदै भुसालले केन्द्रदेखि वडासम्म ध्रुवीकरण आवश्यक रहेको बताए । ‘पुराना मान्यता भत्किएका छन्, स्वार्थ र भ्रम तोडेर नयाँ मानक बनाउनुपर्छ,’ उनले भने ।
माओवादीको जनयुद्ध र एमालेको बहुदलीय जनवाद दलाल पुँजीवादसँग ठोक्किएको उनको भनाइ छ । भुसालले नेकपाका विप्लव, माओवादी केन्द्रका जनार्दन शर्मा र आफूले नयाँ पार्टी गठन नभई कम्युनिस्ट आन्दोलनलाई जुटाउने अभियान चलाएको स्पष्ट पारे ।
‘हामी तीन जनाले मात्र होइन, आन्दोलनमा चिन्तित सबैले माथिदेखि वडासम्म बहस गर्नुपर्छ,’ उनले भने । साउन ६ गतेदेखि सुरु भएको यो बहसले बुटवलमा गति लिने उनको विश्वास छ । उनले देउवा, ओली, प्रचण्डदेखि रविसम्मको नेतृत्वप्रति जनतामा असन्तुष्टि रहेको उल्लेख गर्दै नयाँ निकासको खाँचो औँल्याए ।














