काठमाडौं । सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडले गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा रहेका आफ्ना शाखाहरूका लागि “इन्स्पाएरिङ लिडरसिप् एण्ड पर्फरमेन्स सेमिनारस् अचिभिङ बजेट गोल्स एण्ड अपेरेसनल सक्सेस” कार्यक्रम सम्पन्न गरेको छ ।

काठमाडौंमा आयोजित उक्त सेमिनारमा बैङ्कका प्रदेश प्रमुख, क्लस्टर हेड, शाखा प्रबन्धक र अन्य कर्मचारीहरू सहभागी थिए । बैङ्कका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, नायब प्रमुख कार्यकारी अधिकृतलगायत वरिष्ठ कार्यकारीहरूको उपस्थितिमा भएको यो कार्यक्रममा गत आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन समीक्षा र चालु आर्थिक वर्ष २०८१/८२ को प्राथमिकतामा छलफल गरिएको थियो ।
साथै, केन्द्र र प्रदेशबीच सहकार्य सुदृढ गर्ने विषयमा पनि अन्तरक्रिया भएको बैङ्कले जनाएको छ । यसअघि मधेश, बागमती र कोशी प्रदेशमा यस्तै सेमिनार आयोजना गरिएको थियो, र यो कार्यक्रम त्यसैको निरन्तरता हो ।
आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्मको तथ्यांकअनुसार सिटिजन्स बैङ्कले कर्जा, निक्षेप र खुद ब्याज आम्दानीमा दोहोरो अङ्कको वृद्धि हासिल गरेको छ । बैङ्कको कर्जा प्रवाह ११.१५ प्रतिशतले बढेर १ खर्ब ७५ अर्ब १६ करोड पुगेको छ, जुन अघिल्लो वर्ष १ खर्ब ५७ अर्ब ५८ करोड थियो । त्यस्तै, निक्षेप सङ्कलन ११.६९ प्रतिशतले वृद्धि भई २ खर्ब १४ अर्ब ८ करोड पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा २२ अर्बले बढी हो ।
खुद ब्याज आम्दानीमा पनि ११.२० प्रतिशत को वृद्धि भएको छ, जसले ६ अर्ब ३६ करोड पुगेको छ । बैङ्कको कर्जा९निक्षेप अनुपात (सीडी रेसियो) ८१.९१ प्रतिशत कायम रहँदा तरलता व्यवस्थापन सन्तुलित रहेको देखिन्छ ।
यस्तै, सम्पत्ति प्रतिफल दर ०.५५ प्रतिशत र पुँजी प्रतिफल दर ५.८१ प्रतिशत रहेको बैङ्कले जनाएको छ। साथै, कोषको लागत र बेस रेट घटाउनुका साथै कर्जा जोखिम व्यवस्थापनमा उल्लेखनीय सुधार गरिएको छ । सिटिजन्स बैङ्कले यस्ता कार्यक्रममार्फत नेतृत्व विकास, कार्यसम्पादन वृद्धि र ग्राहक सेवामा उत्कृष्टता कायम राख्ने लक्ष्य राखेको छ ।











