काठमाडौं । पूर्वराष्ट्रपति विद्या भण्डारी राजनीतिमा सक्रिय भएपछि एमाले पङ्क्तिमा सबैभन्दा बढी अध्यक्ष केपी शर्मा ओलीलाई आच्छु आच्छु भएको छ । विद्यादेवी भण्डारीलाई पार्टीका विभिन्न कार्यक्रममा रोक लगाउनेदेखि सदस्यता नै नवीकरण नगर्ने निर्णयसम्मको हर्कत महासचिव शंकर पोखरेलको निर्देशनमा भएको एमाले स्रोतले दृष्टिलाई बताएको छ ।

गत साउनमा बसेको एमाले केन्द्रीय कमिटीको बैठकले विद्या भण्डारीको सदस्यता नवीकरण नगर्ने र भण्डारी सहभागी हुने कार्यक्रममा एमालेका कार्यकर्तालाई प्रतिबन्ध लगाउन थालेपछि अहिले समानान्तर गतिविधि सुरु भएको छ । जननेता मदन भण्डारीको निर्वाचन प्रचारप्रसार कार्यालय नयाँ बानेश्वर थापागाउँमा कार्यालय खोलेर समानान्तर पार्टी गतिविधि सुरु भएको हो ।
थापागाउँमा पूर्वराष्ट्रपति भण्डारीले गत बिहीबार सम्पर्क कार्यालय खोलिन । औपचारिक रूपमा समानान्तर कार्यालय नभनिए पनि राजनीतिक गतिविधिका लागि कार्यालय खोलिएको हो । कार्यक्रममा एमालेका तीन उपाध्यक्ष र स्थायी कमिटी सदस्यसमेत केही नेताहरू सहभागी भए । यो परिदृश्यसँगै अब नेकपा एमालेभित्र औपचारिकरुपमै चिरा परेको हो कि भन्ने प्रश्न उब्जिएको छ ।
सक्रिय राजनीतिमा हामफालेकी पूर्वराष्ट्रपति भण्डारीले नयाँ पार्टी कार्यालयको बार्दलीबाट साङ्केतिक रूपमा हात हल्लाउँदै कार्यालय उद्घाटन गरेको विषयलाई एमाले नेताहरूले कसरी लिन्छन् भन्ने बारेमा छलफल नै सुरु भइसकेको छ ।
पूर्वराष्ट्रपति भण्डारीले उद्घाटन गरेको कार्यालयको नाम रहेको छ– ‘मदन भण्डारी ७५औं जन्मजयन्ती मूल समारोह समिति मूल व्यवस्थापन समिति सम्पर्क कार्यालय ।’ तर खासमा यो भण्डारीले राजनीतिक गतिविधि गर्नका लागि खोलिएको सम्पर्क कार्यालय हो ।
नेकपा एमालेले औपचारिकरुपमै गत साउनमा पूर्वराष्ट्रपति भण्डारीलाई दलको सदस्यता दिन नमिल्ने निर्णय गरेर देशैभरि सर्कुलरसमेत पठाइसकेको छ । तर, भण्डारीले चाहिँ आफू नेकपा एमालेको सदस्य रहेको दाबी गर्दै समानान्तर गतिविधि अघि बढाएकी छिन् । यसैको पछिल्लो कडी बिहीबारको कार्यालय उद्घाटन कार्यक्रम हो ।
कार्यालय उद्घाटनपछि एमाले अध्यक्ष ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीले पार्टीसँग सम्बन्धित आफ्नो राजनीतिक गतिविधि बढाएको र सम्पर्क कार्यालय खोलेको कदमप्रति आक्रोश व्यक्त गरेका छन् । पार्टी कार्यालयका कर्मचारीलाई झुक्याएर सदस्यता लिएको, पार्टीमा असन्तुष्ट र चुनाव हारेकालाई भेला गरेको तथा आवश्यकै नभएको सम्पर्क कार्यालय खोलेको भन्दै ओलीले विद्याको नियतमा गम्भीर आशंका गरे ।
ओली–विद्याबिच केही समययता वाक्युद्ध जारी छ । यस्तो बेला लामो समयदेखि एमालेमा एकल राज गरेका ओलीलाई आफ्नै समूहबाट ठेस लागेको छ । केन्द्रीय कमिटीबाटै भण्डारीलाई राजनीतिमा आउन रोकेपछि पदाधिकारीमार्फत ओलीविरुद्ध पार्टीभित्रै संघर्ष गर्ने तयारी थालिएको हो । एमालेमा एउटै गुटबाट कार्यालय नै खोलेर समानान्तर गतिविधि गर्न थालिएको संभवत यो पहिलो पटक हो ।
पार्टी सदस्यता नवीकरण नगर्ने केन्द्रीय कमिटीबाट रुष्ट पूर्वराष्ट्रपति भण्डारी यही भदौ २० देखि २२ गते आयोजना हुने पार्टीको विधान महाधिवेशनमै निरंकुश, तानासाही निर्णय उल्ट्याउने गरी गतिविधि गर्ने योजनामा लागेको प्रस्ट बुझिन्छ । उनी उतिमै मात्र रोकिने अवस्था छैन । पार्टीमा आगामी दिनमा ओलीविरुद्ध नै भिड्ने तयारीमा रहेकी छिन् ।
फरक मतको तयारी
सत्तारूढ दल नेकपा एमालेको विधान अधिवेशन नजिकिँदै गर्दा फरक मत दर्ज गर्ने तयारी भएको छ । भदौ २० देखि २२ गतेसम्म हुने दोस्रो विधान महाधिवेशनमा भण्डारीको तर्फबाट एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा फरक मत दर्ज गर्ने तयारी भएको छ । वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीभित्र नेतृत्वको उमेरहद तथा कार्यकालको विषयमा फरक मत राख्ने भएका हुन् ।
उनले भण्डारीको पक्षबाट लगातार वकालत गर्दै आएका छन् । एमालेको केन्द्रीय कमिटी बैठकले पास गरेको विधान संशोधन प्रस्तावलाई विधान अधिवेशनमा फरक मत दर्ज गर्न लागिएको पोखरेलनिकट एक नेताको दाबी छ ।
‘विधान अधिवेशनमा दुई हजार तीन सय ९२ जना सहभागी प्रतिनिधिका बिचमा पार्टीभित्र आफ्ना धारणा राख्न लाग्नुभएको छ,’ उनीनिकट रहेका ती नेताले भने । यद्यपि, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले केही बताएका छैनन् । गत बिहीबार भण्डारीसँगै देखिएका पोखरेलले फरक मत राख्न सक्ने संकेत गरेका छन् ।
मदन भण्डारी फाउन्डेसनले ७५औँ मदन जयन्ती मनाउन गठन गरेको मूल समारोह समितिको सम्पर्क कार्यालय उद्घाटनमा सहभागी भएका पोखरेलले यस्तो संकेत दिए, तर मुख खोलेनन् । एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेल, उपाध्यक्षद्वय युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे सहभागी भएका थिए । ज्ञवाली र पाण्डेले गत साउनमा सम्पन्न केन्द्रीय कमिटीको बैठकमा फरक मतसमेत राखेका थिए । तर उनीहरूको फरक मतको विषयमा अन्तरपार्टी निर्देशनमा उल्लेख नगरेको भन्दै आपत्ति जनाइएको थियो ।
पार्टी सदस्यता नवीकरण नगर्ने पार्टी निर्णयको विपक्षमा रहेका पोखरेलले कार्यालय उद्घाटनमा सहभागी भएर र सम्बोधनमामार्फत पूर्वराष्ट्रपति भण्डारीलाई साथ दिएका छन् । कार्यक्रममा उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली, स्थायी समिति सदस्य कर्ण थापा, केन्द्रीय सदस्यहरू सरिता न्यौपाने, रमेश पौडेल, बाबुराम अधिकारीसहित करिब एक दर्जन केन्द्रीय सदस्य रहेका छन् ।
त्यसैगरी एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेल, काठमााडौं जिल्ला अध्यक्ष दीपक निरौलासहित उपत्यकामा रहेका एमालेका अगुवा नेता–कार्यकर्ता तथा जनवर्गीय संगठनका पूर्वपदाधिकारीहरूसहित नेता–कार्यकर्ता सहभागी थिए । नेता कार्यकर्ताहरूले साथ दिएपछि भण्डारीले आफैं पछि नहट्ने संकेत गरिन् । गत असार १४ गते पार्टी राजनीतिमा सक्रिय भएको घोषणा गरेकी भण्डारीलाई पार्टी केन्द्रीय कमिटीले सदस्यता नवीकरण नगर्ने निर्णय गरे पनि आफू एमालेकै सदस्य रहेको बताएकी छन् ।
तरंगित एमाले
पूर्वराष्ट्रपति भण्डारीले पार्टीको संगठित सदस्यता नवीकरण गरी राजनीतिक सक्रियता बढाएपछि यसबारे अनेक कोणबाट व्याख्या र बहस सुरु भएको अवस्थामा पार्टीभित्र ठूलो तरंग उत्पन्न भएको थियो । कतिपयले उनको सक्रियतालाई एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रतिस्पर्धीको रूपमा अथ्र्याएका थिए । कतिपयले वाम एकताको अभ्यासको नयाँ प्रस्थान विन्दुका रूपमा लिएका थिए । तर अहिले ओलीकै प्रतिस्पर्धीको रूपमा अघि बढेको अवस्था छ । पार्टी सदस्यता नवीकरण भएको अवस्थामा ओली भण्डारीकै प्रतिस्पर्धा हुने निश्चित देखिएको छ ।
दुई पटक राष्ट्रपति भइसकेकी भण्डारी र दुई कार्यकाल अध्यक्ष भइसकेका ओलीले एमाले नेतृत्वका लागि देखाएको आकांक्षाले कस्तो राजनीतिक मोड लिन्छ भन्नेचाहिँ हेर्न बाँकी नै छ । एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओली र भण्डारीबीच सवालजवाफले तरंग उत्पन्न भइरहेका छ । पछिल्लो वाकयुद्धले उनीहरूबिच संवादको स्थिति देखिएको छैन । ‘कम्तीमा भारत भ्रमणसम्म ओली–भण्डारीबीच भेटघाट हुनेछैन ।
त्यसअघि विधान अधिवेशन सम्पन्न हुनेछ र ओलीले विधानबाटै पूर्व राष्ट्रपति उपराष्ट्रपतिलाई राजनीतिमा सक्रिय हुन नदिने प्रावधान थप गर्नेछ’, ओली निकट रहेका एक नेताले दृष्टिसँग भने । पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा आउन सुझाव सल्लाह दिँदै आएका नेताहरुले पार्टीको पदाधिकारीमा रहने नेताको ७० वर्षे उमेर हद लागू गर्नुपर्ने वा कार्यकारी पदमा दुई कार्यकालभन्दा बढी बस्न नहुने प्रावधान राख्नुपर्ने लबिङ गर्दै आएका थिए । तर उनीहरूको यो लविङ खासै काम लागेन ।
यसको पक्षमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु युवराज ज्ञवाली,सुरेन्द्र पाण्डेलगायत अन्य पदाधिकारी छन् । महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, विष्णु रिमालचाहिँ कार्यकाल र उमेर हदभन्दा विचार र नेतृत्वको आवश्यकता महत्त्वपूर्ण हुने भन्दै दुवै प्रावधान लागू गर्न नहुने पक्षमा छन् । अन्य पदाधिकारी भने यसबारे अझै खुलेका छैनन् । तर विधान अधिवेशनबाट ओलीले आफ्नो पक्षमा नखुल्ने नेताहरूलाई पाखा लगाउने अवस्था छ ।
एमाले अध्यक्ष ओलीको कार्यशैलीमा ‘केन्द्रियता’ हाबी भएको भन्दै उनको प्रतिस्पर्धामा पूर्वराष्ट्रपति भण्डारीलाई उभ्याउने गृहकार्यमा रहेका नेताहरूलाई समेत ओलीले अहिलेबाटै बक्रदृष्टि राखेका छन् । ७० वर्षे उमेरहदको व्यवस्था निलम्बनमा रहेको र दुई कार्यकाल कार्यकारी पदमा लागू भए २०१८ असारमा जन्मिएकी पूर्वराष्ट्रपति भण्डारीका लागि सहज हुनेछ । आगामी पार्टीको ११ औँ महाधिवेशनमा ओलीलाई चुनौती दिने नेता भण्डारी नै भएको कतिपय राजनीतिक विश्लेषकहरुको दावी रहेका बेला ओलीले सदस्यता नवीकरण नगरेर भण्डारीलाई सदस्यताकै लागि संघर्ष गर्नुपर्ने अवस्थामा पु¥याइदिए ।
असन्तुष्ट ओलीको गाली वर्षा
पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार आयोजित कार्यक्रममा ओलीले पार्टीका असन्तुष्ट र चुनाव हारेकालाई भेला पारेर पूर्वराष्ट्रपति विद्याले आफूलाई अप्ठ्यारो पार्न खोजेको बताएका छन् । साथै, ओलीले पार्टी र जनवर्गीय संगठनभित्र आन्तरिक प्रतिस्पर्धामा हार्ने र जिम्मेवारी नपाएर असन्तुष्टि पोख्ने जो–कोही नेता–कार्यकर्तालाई स्थान नरहेको स्पष्ट सन्देशसमेत दिएका छन् ।
भण्डारीले बानेश्वरस्थित थापागाउँमा सम्पर्क कार्यालय उद्घाटन गरेर ओली जबजको नीतिअनुसार पार्टीलाई नेतृत्व गर्न असफल भएकाले नेतृत्व लिन आफू अग्रसर भएको सन्देश दिएपछि उनी थप आक्रोसित बनेका हुन् ।
साथै, उनले एमालेभित्र लोकतन्त्र निम्छरो अवस्थामा पुगेको आरोप लगाउँदै सबैखाले विकृति–विसंगतिविरुद्ध संघर्ष गर्ने बताएकी थिइन् । विद्याको सोही सम्बोधनलाई लक्षित गर्दै अध्यक्ष ओलीले शुक्रबार कठोर र आक्रोशयुक्त जवाफ फर्काएका छन् । ‘उहाँलाई दुईपटक पार्टीले राष्ट्रपति बनायो, फर्केर आएर पार्टीमा समस्या खडा गर्नुहुन्छ भन्ने कुरा कल्पना गरेको थिएन । उहाँ आएर पार्टीमा सहयोग गरेर एकतामा बल पु¥याउनुपर्ने हो । तर, पार्टीभित्र सधैँ असन्तुष्ट भएका, पार्टीका पक्षमा कहिल्यै नबोल्ने र पार्टी–जनसंगठनमा चुनाव–सुनाव हारेका असन्तुष्ट मान्छेहरू भेला गर्दै हिँड्नुभएको छ,’ विद्यालाई लक्षित गर्दै ओलीले भनेका छन् ।
उनले मदन जयन्तीका नाममा कार्यालय स्थापना गर्ने विद्याको कामको पनि आलोचना गरे । ‘अर्को वर्ष आउने मदन भण्डारीको जन्मदिन मनाउनका लागि अहिलेदेखि नै पार्टी कार्यालय खोल्नुपर्छ ? अर्को वर्षको जन्मदिन मनाउन अहिले नै कार्यालय खोलेर, पार्टीविरुद्ध भित्रभित्र क्रियाशील भएर र असन्तुष्ट तत्त्वहरूलाई भेला गरेर हुन्छ ? उहाँहरूको यो तरिका ठिक छैन,’ ओलीले भने । यद्यपि, ठुलो आन्दोलनको (एमालेमा)भित्र कहिलेकाहीँ असन्तुष्टिको स्वर सुनिनु स्वाभाविक भएको ओलीको तर्क थियो ।
सदस्यता नखोसेको ओलीको जिकिर
एमालेले भण्डारीको सदस्यता नखोसेको दाबी गर्दै ओलीले कर्मचारीलाई झुक्याएर रसिद काट्दैमा नवीकरण हुन नसक्ने बताए ।
‘राष्ट्रपति हुने वेला उहाँले सदस्यता परित्याग गर्नुभएको हो । सदस्यता छोडेर नै राष्ट्रपति हुन जानुभएको हो । फर्किएर आएपछि रसिद काट्ने ठाउँमा कर्मचारीलाई झुक्याएर उहाँले रसिद लिनुभयो । राष्ट्रपति भएको मान्छे होला भनेर कर्मचारीले त काटिदिन्छ । त्यसरी लिने होइन । तपाईँहरू सबैलाई थाहा छ– छाडेको सदस्यता नवीकरण हुँदैन । भइरहेको सदस्यता मात्र नवीकरण हुन्छ । कसैको सदस्यता छैन भने नवीकरण हुन्छ र?’ ओलीका अनुसार विद्याले १३ कात्तिक ०७२ मा पार्टी सदस्यता त्यागेको थिइन् ।
राष्ट्रपति निर्वाचित भएपछि भण्डारीले पार्टीको जिम्मेवारीबाट मात्र अलग भएको भन्दै प्रेस विज्ञप्ति जारी गरेकी थिइन् । सदस्यता त्याग नगरेको र तत्कालका लागि पार्टीले दिएको जिम्मेवारी पूरा गर्न तत्कालीन जिम्मेवारीहरूबाट अलग भएर तटस्थ मात्र भएको भण्डारीले बताउँदै आएकी छिन् ।
उनले त्यतिवेला जारी गरेको विज्ञप्तिमा पनि जिम्मेवारीबाट अलग भएको विषय उल्लेख छ । ओलीले सदस्यता खोसिएको भ्रम नपाल्न आग्रह पनि गरे । ‘अहिले पार्टीभित्र अलिअलि तपाईंहरूले पनि च्यासलले कहाँ कसको सदस्यता खाइदियो, कसको सदस्यता सिद्यायो भन्ने सुनिरहनुभएको होला । यो च्यासलले कसैको सदस्यता खोसेको छैन, खोस्नुपर्ने आवश्यकता पनि छैन । र, पूर्वराष्ट्रपतिजीको बारेमा तपाईंहरूलाई पनि भ्रम नपरोस–उहाँको सदस्यता पार्टीले खोसेको होइन,’ ओलीले भने ।














