काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले २ कार्यकारी पदमा कार्यकालको व्यवस्था उपयुक्त हुने बताएका छन् ।

सोमबार काठमाडौंमा ‘एमालेमा आन्तरिक लोकतन्त्र’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै पाण्डेले गत विधान महाधिवेशनबाट २ कार्यकाल र उमेर हदको व्यवस्था गरिए पनि उमेर हदको व्यवस्था बिचमा निलम्बन गरिएको बताए ।
उनले पछिल्लो समय दुई कार्यकालको व्यवस्था ठिक कि बेठिक भनेर पार्टीमा बहस चलिरहेको र यही भदौ २० देखि २२ सम्म हुने विधान महाधिवेशनले त्यसको छिनोफानो हुने बताए ।
२ कार्यकालको विषयमा आगामी विधान महाधिवेशनले जे निर्णय गर्छ त्यही व्यवस्था लागु हुने बताए । तर उनले बहुमतले गर्ने निर्णय सधैँ सही नहुने पनि बताए । आज नगरे पनि भोलि यो पद्धति विकास हुने भन्दै विगतमा पनि त्यही भएको बताए । उनले जननेता मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको मर्म र भावना पनि प्रतिस्पर्धा नै भएको बताए ।
उनले अन्तर्राष्ट्रिय अभ्यासलाई मध्यनजर गरेर नै मदन भण्डारीले बहुदलीय प्रतिस्पर्धाको बाटोबाट जानुपर्छ भनेर चौथो महाधिवेशन हुँदै पार्टीमा लोकतान्त्रिकरणको प्रक्रिया सुरु गरेको बताए ।
पछिल्लो समय नेकपा एमाले प्रतिस्पर्धाको कारणबाट पार्टी विभाजित भएको भन्ने भ्रममा सत्यता नभएको पाण्डेको भनाइ छ । उनले भने, ‘नेकपा नबनेर एमाले मात्रै भएको भए पार्टी विभाजन हुँदैनथ्यो । हामीलाई लोकतान्त्रिकरण नभएर पार्टी फुट्यो भन्ने भ्रम छ त्यो होइन । ढङ्ग नजानेर पार्टी फुट्यो ।’














