कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संघ, प्रदेश र स्थानीय तहबीचको सम्बन्ध सुदृढ हुनु आवश्यक रहेको बताएका छन्।

सुर्खेतको वीरेन्द्रनगरमा भएको कर्णाली प्रदेश प्रशिक्षण परिषद्को तेस्रो बैठकमा बोल्दै उनले समन्वय र सहकार्यबाट मात्रै विकास र समृद्धिको लक्ष्यमा पुग्न सकिने बताए।
मुख्यमन्त्री कँडेलले विकास कार्यको कार्यान्वयन क्षेत्र स्थानीय तह भएकाले यसलाई जिम्मेवार र सक्षम बनाउनुपर्ने बताए। उनले प्रदेश सरकारले सुरु गरेको योजना बैंकलाई स्थानीय तहले अनुसरण गर्न आग्रह गर्दै स्रोतको सही सदुपयोगमा जोड दिए।
कर्मचारीतन्त्रप्रति संकेत गर्दै उनले समस्या मात्र देखाउने होइन, समाधानका उपाय पनि सुझाउनुपर्ने बताए। संघीयता प्रभावकारी बनाउन कानुनी स्पष्टता र प्रक्रियागत पारदर्शिता अनिवार्य रहेको उनले उल्लेख गरे।














