काठमाडौँ । सन् २०२५ को अगस्टमा नेपालमा ८८ हजार ६८० विदेशी पर्यटक भित्रिएका छन्।
नेपाल पर्यटन बोर्डले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार यो संख्या गत वर्षको सोही महिनाको तुलनामा २२ प्रतिशतले वृद्धि भएको हो।
पर्यटक आगमनमा सबैभन्दा ठूलो हिस्सा भारतको रहेको छ, कुल ४० प्रतिशत अर्थात् ३५ हजार ५०५ भारतीय पर्यटक नेपाल भित्रिएका छन्। त्यसपछि क्रमशः चीनबाट ७ हजार ५३३ (८.५%), अमेरिकाबाट ६ हजार ६८ (६.८%), श्रीलङ्काबाट ५ हजार ९५६ (६.७%) र बङ्गलादेशबाट ४ हजार २६२ (४.८%) पर्यटक आएका छन्।
सन् २०२५ को जनवरीदेखि अगस्टसम्मको आठ महिनामा कूल ७ लाख ३६ हजार ५६२ पर्यटक नेपाल आएका छन्। क्षेत्रगत विवरणअनुसार, दक्षिण एसियाली (सार्क) देशहरूबाट ५३% पर्यटक, एसियाका अन्य मुलुकबाट १७.८%, युरोपबाट १२.६% र ओसनिया क्षेत्रबाट २.७% पर्यटक आएका छन्।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीका अनुसार, “कोरोना महामारीपछि थला परेको पर्यटन क्षेत्र क्रमशः पुनरुत्थानको चरणमा छ। विशेष गरी एयर इन्डिया एक्सप्रेसजस्ता नयाँ उडान सेवाले भारतबाट पर्यटक आगमनमा उल्लेखनीय वृद्धि गराएको छ। आगामी दिनमा पर्यटक आगमन अझ बढ्ने आशा छ।”














