जनकपुरधाम । तराईको संवेदनशील क्षेत्र जनकपुरधाम–२० स्थित देवपुरा–रुपैठामा धार्मिक विवादपछि उत्पन्न तनावपूर्ण अवस्था क्रमशः सामान्य हुँदै गएको छ।

तर, सतहमा शान्त देखिए पनि भित्री असन्तोष र आक्रोश अझै चुलिएको छ।
गत शनिबार गणेश पूजाको मूर्ति शेलाउने र धार्मिक झण्डा राख्ने विषयलाई लिएर दुई समुदायबीच ठूलाे झडप भएपछि यहाँको जनजीवन अस्तव्यस्त बनेको थियो। धार्मिक आस्थालाई लिएर सुरु भएको विवादले साम्प्रदायिक रूप लिँदा स्थिति अत्यन्तै नाजुक बन्न पुगेको थियो।
घटनापछि प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले क्षेत्रको अवस्था आजदेखि सामान्य बन्दै गएको जानकारी दिनु भए पनि स्थानीय स्तरमा त्रास र अविश्वास अझै उस्तै रहेको देखिन्छ। “शान्ति सुरक्षा मजबुत बनाइएको छ, तर कुनै पनि प्रकारको साम्प्रदायिक उत्तेजना फैलन नदिन सबै संवेदनशील र सतर्क बन्नुपर्ने आवश्यकता छ,” प्रजिअ आचार्यले चेतावनी दिए।
अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको बाक्लो उपस्थिति छ। भीड नियन्त्रण, गस्ती र सूचनाको निगरानी कडा बनाइएको छ। प्रशासनले अप्रिय घटना दोहोरिन नदिन निषेधाज्ञा जस्तै कठोर उपस्थिति कायम राखेको छ। स्थानीय प्रशासन, समुदायका अगुवा र सुरक्षा निकायबीच सहमति भए पनि यो अस्थायी समाधान मात्र हो भन्ने जनमत बलियो बन्दै गएको छ।
झडपका क्रममा धार्मिक झण्डा हटाउने प्रयास, मूर्ति स्थापना रोकेको आरोप र प्रहरीमाथिको असन्तोषले स्थिति थप चर्किएको थियो। सीमावर्ती क्षेत्र, विविध धार्मिक आस्था र अति संवेदनशील मानसिकता भएका समुदायबीच यस्ता घटना दोहोरिन नदिन दीर्घकालीन सहमति र गहिरो संवाद अपरिहार्य देखिन्छ।
सुरक्षाकर्मीको बाक्लो उपस्थितिले स्थिति थामिए पनि, देवपुरा–रुपैठा अझै संवेदनशील अवस्थामा रहेको प्रस्ट देखिन्छ। प्रशासन र स्थानीय अगुवाहरूबीचको सहमति कति समयसम्म टिक्छ, त्यो समयले मात्र बताउनेछ।














