Logo
Logo

विवादमा रास्वपाका उम्मेदवार डा. लेखजंग थापा


6.3k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रुपन्देही–३ का लागि उम्मेदवार चयन भएका डा. लेखजंग थापा बहुविवाहको आरोपमा विवादमा तानिएका छन् ।

कानुनविपरीत बहुविवाह गरेको विषय सञ्चारमाध्यममार्फत सार्वजनिक भएपछि उनी आलोचनाको केन्द्रमा परेका हुन् । सत्तारुढ दलहरू नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताले उक्त विषयलाई सामाजिक सञ्जालमा उठाउँदै चुनावी मुद्दा बनाइरहेका छन् ।

बहुविवाह गरेको र पार्टीको गोप्य बैठकमा ‘जासुसी चस्मा’ प्रयोग गरी भिडियो रेकर्ड गरेको आरोप लागेपछि रास्वपाले सोमबारका दिउँसो २ बजेका लागि तय गरेको पत्रकार सम्मेलन अन्तिम समयमा स्थगित गरेको छ।

थापाको पारिवारिक पृष्ठभूमिबारे विभिन्न कोणबाट आलोचना भइरहेका बेला रास्वपाले भने उनको बचाउ गरेको छ । पार्टीका प्रवक्ता मनिष झाले सम्पूर्ण विवरण हेरेरै थापालाई उम्मेदवार बनाइएको स्पष्ट पार्दै पुनर्विचार नहुने बताएका छन् । यद्यपि, विपक्षीहरूले यसै विषयलाई चुनावी एजेन्डा बनाउने संकेत देखिएको छ ।

भैरहवाको सिद्धार्थनगर नगरपालिका–९, अञ्चलपुरमा जन्मिएका डा. थापा वरिष्ठ न्युरोलोजिस्ट, समाजसेवी तथा अभियन्ताका रूपमा परिचित छन् । नेपाली न्युरोसाइन्सको विकास र बिरामीको उपचारमा १६ वर्षभन्दा बढी समय बिताएका उनी एक प्रतिभाशाली चिकित्सक मानिन्छन् ।

उनी पोखरास्थित मणिपाल कलेज अफ मेडिकल साइन्सेजबाट एमबीबीएस, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट इन्टरनल मेडिसिनमा एमडी तथा कलेज अफ मेडिकल साइन्सेज चितवनबाट डीएम इन न्युरोलोजी गरेका छन् । साथै, उनले अमेरिकाको प्रतिष्ठित हार्वर्ड विश्वविद्यालयबाट ‘सेफ्टी, क्वालिटी, लिडरशिप एन्ड इन्फरमेटिक्स’ कार्यक्रमसमेत पूरा गरेका छन् ।

डा. थापा एक सक्रिय अनुसन्धानकर्ता पनि हुन् । उनका ८० भन्दा बढी वैज्ञानिक अनुसन्धानपत्रहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित छन्, जसले उनलाई अन्तर्राष्ट्रिय स्तरमा समेत चिनाएको छ । नेपाल स्ट्रोक एशोसिएसनका संस्थापक अध्यक्षसमेत रहेका थापाले स्ट्रोकको उपचार, निदान र जनचेतनामा उल्लेखनीय योगदान दिएका छन्।

उनकै नेतृत्वमा तयार पारिएको ‘राष्ट्रिय स्ट्रोक व्यवस्थापन प्रोटोकल’ हालै सार्वजनिक गरिएको छ, जसलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि स्वीकृति दिएको छ ।

डा. थापाले आफ्नै पहलमा हजारौं नेपाली चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरूलाई ‘स्ट्रोक मास्टर क्लास’मार्फत तालिम प्रदान गर्दै आएका छन्। स्ट्रोकलाई नेपालका दूरदराजका क्षेत्रसम्म प्राथमिक उपचारको पहुँच पुर्‍याउन उनले उल्लेखनीय काम गरेका छन् ।

डेढ दशकभन्दा बढी समयदेखि उनी हप्तामा दुई दिन काठमाडौंबाट भैरहवा पुगेर बिरामीको उपचार गर्दै आएका छन् । साथै, विभिन्न स्वास्थ्य शिविरमार्फत रुपन्देहीका ग्रामीण क्षेत्रमा सेवा पुर्‍याउँदै आएका छन् । उनले यहाँका सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा मेधावी विद्यार्थीहरूका लागि छात्रवृत्ति कोष पनि स्थापना गरेका छन् ।

कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले असोज २१ गते उम्मेदवारी दर्ताको समय तोकेको छ । उम्मेदवारविरुद्ध उजुरी दर्ता गर्न असोज २२ गतेको समय निर्धारण गरिएको छ भने उजुरी छानबिन र निर्णय असोज २३ गते गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्