काठमाडौं । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूर्वाधार विकासमा वित्तीय व्यवस्थापनको चुनौती समाधान गर्न वैकल्पिक विकास वित्त परिचालन विधेयक चाँडो पारित गर्ने राष्ट्रियसभा सदस्यहरूलाई आग्रह गरेका छन् ।

सोमवार राष्ट्रियसभाको बैठकमा प्रतिनिधिसभाबाट प्राप्त उक्त विधेयकमाथिको छलफलमा उनले ट्रेजरीमा मात्रै निर्भर रहँदा पूर्वाधार निर्माणको आवश्यकता पूरा गर्न कठिनाइ हुने उल्लेख गरे । छोटो समयमा प्रतिनिधिसभाबाट पारित भएको यो विधेयक राष्ट्रियसभाको विषयगत समितिमा नपठाई सभाबाटै पारित गर्न उनले आग्रह गरे ।
छलफलमा सांसदहरू गोपीबहादुर सार्की अछामी, किरणबाबु श्रेष्ठ, विष्णुबहादुर विश्वकर्मा, नारायणदत्त मिश्र र विष्णुकुमारी सापकोटाले भाग लिए । बैठकले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतले स्वीकृत गर्यो ।
सभाध्यक्ष नारायणप्रसाद दाहालले संशोधन प्रस्ताव दर्ता गर्न चाहने सांसदलाई विधेयक शाखामा निवेदन दिन सूचित गरे । बैठकमा मन्त्रिपरिषद्को कार्यभार तोकिएको पत्रको ब्यहोरा जानकारी गराइयो । सांसद अञ्जान शाक्यलाई संसदीय सुनुवाइ समितिमा मनोनयन गरिएको र सभाले यसलाई अनुमोदन गरेको थियो ।














