म्याग्दी। डोल्पाको छार्का ताङसोङ गाउँपालिकाका किसानलाई पश्मिनाको कच्चा पदार्थ च्याङ्ग्राको भुवा गुणस्तरीय बनाउन खर्कमै पुगेर तालिम दिइएको छ ।

नेपाल पश्मिना सङ्घले आइसिटीको आर्थिक सहयोग, भेटेरिनरी अस्पताल मुस्ताङ र गाउँपालिकाको समन्वयमा ५ हजार मिटर उचाइको डेमार खर्कमा तालिम सञ्चालन गरेको हो ।
तालिममा किसानलाई डिपिङ ट्याङ्की प्रयोग गरी च्याङ्ग्राको शरीर परजीवीमुक्त बनाउने र आधुनिक काइयो प्रयोग गरेर सुरक्षित रूपमा भुवा निकाल्ने सीप सिकाइयो । सो क्रममा ८५ थान काइयो वितरण र करिब २,५०० किलो भुवा किसानसँगै खरिद गरिएको सङ्घले जनाएको छ ।
नेपालबाट वार्षिक करिब रु ६ अर्ब बराबरको पश्मिना निर्यात हुने गरेको छ । तर आवश्यक भुवाको धागोमध्ये करिब रु ५ अर्ब बराबर अझै विदेशबाट आयात गर्नुपरेको भन्दै सङ्घले स्थानीय उत्पादन बढाउनेतर्फ जोड दिएको छ । किसानलाई प्रविधि र बजार सुनिश्चिततामार्फत आत्मनिर्भर बनाउन निरन्तर कार्यक्रम चलाइने बताइएको छ ।














