काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षको आइतबार र सोमबार बसेको बैठकले पदाधिकारी नराख्ने र निर्वाचन आयोगमा केन्द्रीय कमिटी क्रमशः अद्यावधिक गर्ने निर्णय गरेको छ ।

संरक्षक रेशम चौधरी अनुपस्थित बैठकले सर्वप्रथम स्थानीय तहका जनप्रतिनिधिबाट नाम अद्यावधिक सुरु गर्ने र पछि संघ–प्रदेश सांसदसहित केन्द्रीय सदस्य थप्दै जाने निर्णय गरेको केन्द्रीय सदस्य दामोदर पण्डितले बताए ।
बैठकले रुपन्देही–३ को उपनिर्वाचनमा उम्मेदवार चयन अधिकार जिल्ला कमिटीलाई दिएको छ भने संगठन विभाग प्रमुखमा लक्ष्मण किशोर चौधरी र प्रवक्तामा दामोदर पण्डितलाई नियुक्त गरेको छ ।
नाउपाको विधानअनुसार २०१ सदस्यीय केन्द्रीय समिति रहने प्रावधान भए पनि बैठकले तत्काल पूर्णता नदिई क्रमशः सदस्य थप्ने तयारी गरेको हो ।














